आइतवार, जेष्ठ ३०, २०७८

भारतद्वारा एक अर्ब अनुदान रकमकाे चेक प्रदान

१८ कार्तिक २०७७, मंगलवार २०:३७
रासस

काठमाडौँ । भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ । आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको उहाँको उपसचिव रमेश अर्यालले जानकारी दिनुभयो । सो अवसरमा अर्थमन्त्री पौडेलले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद समेत दिनुभयो । भेटमा कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

भेटका क्रममा राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको उपसचिव अर्यालले जानकारी दिनुभयो । उहाँले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share