काठमाडौँ, ६ साउन । वल्र्ड विजिनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्टले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले आउँदो असोज १४ देखि १६ गतेसम्म न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले उक्त व्यापारिक मेलामा नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अमेरिकाले भन्सार छुट गरेका विभिन्न ६६ प्रकारका वस्तुलाई प्रदर्शनमा राखिने जानकारी दिए ।
कपडा तथा गलैँचा, हस्तकलासम्बन्धी सामग्री, छालाजन्य वस्तु कपडा, झोला, जुत्ता, मफलर, टोपी, नेपाली शैलीमा निर्माण गरिएका सुनका गरगहना नेपाली उत्पादनका रुपमा प्रदर्शनीमा समावेश गरिनेछ ।
दुई वर्षदेखि वस्तु उत्पादन गरेका, खुद्रा वा थोक व्यापार गरेका, सरकारी कर तिरेका, स्वदेशी तथा विदेशी मेलामा सहभागी भई अनुभव हासिल गरेका, बैंकिङ प्रक्रियाबाट कारोबार गरेका उद्योगीलाई प्रदर्शनीमा सहभागी गराइनेछ ।
प्रदर्शनीमा नेपालबाट जाने व्यवसायीलाई ३०० तथा विश्वका अन्य स्थानमा बसेका नेपाली व्यवसायीलाई ७२ कक्षको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपाल महिला उद्यमी महासङ्घका सुमित्रा पलाञ्चोके (श्रेष्ठ) ले मुलुकका विभिन्न उत्पादन प्रवद्र्धन गरी नेपालका कुन उत्पादनको अन्तर्राष्ट्रिय तहमा कस्तो माग छ, त्यसका बारेमा अध्ययन गर्न प्रदर्शनीले सहयोग गर्ने बताए ।
विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको टिमुरको छोप आपूर्ति गर्दै आएको नेपाली मन उद्योगका सञ्चालिका बसुमाया तामाङले अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिष्ठा बढाउने र नेपाली व्यवसायीको व्यापार वृद्धिका साथै पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे । रासस