सुर्खेत, ६ साउन ।
वीपीको सम्झनामा देशभर विभिन्न कार्यक्रमको आयोजना भइरहेका वेला वीपीको विचार वर्तमान सन्दर्भ नामक विचार गोष्ठीको आयोजना गरी सुर्खेतमा पनि ३४ औं वीपी स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २, क्षेत्रीय कार्य समितिको आयोजनामा ३४ औं वीपी स्मृति दिवस मनाइएको हो ।
विचार गोष्ठी कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका पूर्व डिन पीताम्बर ढकालले सामाजिक रुपान्तरणमा विश्वेश्वरप्रसाद कोइरालाको विचार अझै सान्दर्भिक विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उप–प्राध्यापक महेन्द्र कार्कीले वीपीकाे विचारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेतका सभापति कमलराज रेग्मीले संविधान कार्यान्वनका लागि काँग्रेस सरकारमा जान लागेको बताए । उनले वीपी कोइराला नेपालको मात्र नभएर एशियाकै प्रजातान्त्रिक विचारकका नेता भएको बताए । साथै उनले काँग्रेसलाई एकजुट बनाएर अगाडि लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
यसैगरी कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष प्रा.डा. राधा शाहले वीपीको ३४ आैँ दिवसका अवसरमा वीपीको विचारलाई सबै काँग्रेसी नेता कार्यकर्ताहरुले आत्मसात गर्दै अगाडि बढ्दै गए र वीपीको विचार सिद्धान्तमा मात्रै नभएर व्यवहारमा पनि लागु गर्नुपर्ने कुरामा जोड दिइन् । उनले अनेकतामा एकता प्रति विश्वास राख्ने भएकाले वीपी वैयक्तिक स्वतन्त्रताको अनुयायी भएको बताइन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति नारायण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति डम्बर जिसी, कोषाध्यक्ष अनन्तप्रसाद पौडेल, जाजरकोटका जिल्ला सचिव खडक विसी, सुर्खेतका पूर्व सचिव नरेन्द्र कोइराला, अधिवक्ता ध्रुव्रकुमार श्रेष्ठ, नगर समितिका सभापति देवकुमार सुवेदी, नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरी र मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेतका अध्यक्ष विष्णु खड्का लगायतले वीपीको विचार सिद्धान्तलाई व्यवहारमा लागु गर्न आवश्यक भएको धारणा राखेका थिए ।
प्रकाशित मिति: ६ श्रावण २०७३, बिहीबार १७:२८