भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन् ।
बुधबार भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने– “आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नु प¥यो भनेर प्रष्ट पार्नु पथ्र्यो ।”
नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरेर सरकार सञ्चालन गर्ने नीति समेत देशको लागि उपयुक्त नभएको बताउँदै उनले सरकार सञ्चालनमा आलोपालो गर्ने सहमति हुनुभन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्ने उनको भनाइ थियो ।
अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानुनी ढङ्गले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए ।
सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्तावतर्फ पेस गर्नु दुर्भाग्य भएको औँल्याउँदै बिजुक्छेले बजेट विधेयक पारित नगरी ल्याएको अविश्वास प्रस्तावले देशलाई आर्थिक नाकाबन्दीमा पारेको बताए ।
उनले भने–“देशमा यस्तो सङ्कट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउनकै लागि भए पनि संसद् विघटनको निर्णय लिनुस् भनेको थिएँ ।”
कार्यक्रममा ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमलीले सवारी चालक र मजदुरको अभाव भएकाले व्यवसायलाई समस्या परेको बताउँदै उनले नक्कली सवारी चालक अनुमतिपत्रले समस्या र चुनौती थपेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केपी अवाल, इँटा व्यवसायी महासङ्घका उपाध्यक्ष एवम् सङ्घका पूर्व अध्यक्ष विश्वराम कवांलगायतले चालकले दुर्घटना गराउने सवारी धनीलाई कारबाही गर्ने प्रवृत्ति गलत भएको बताए ।
सङ्घका पूर्व अध्यक्ष नवीन प्रजापतिले करिब रु दुई करोड २५ लाखको लागतमा निर्माण हुन लागेको चारतले भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकोे बताए । रासस