बेनी (म्याग्दी), ४ साउन । मुस्ताङको छुसाङ–५ मा घाइते अवस्थामा दुर्लभ वन्यजन्तु हिमचितुवा भेटिएको छ । घाइते अवस्थामा स्थानीयले देखेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई खबर गरेका थिए ।
छुसाङको हिमाली क्षेत्रबाट बस्तीतर्फ आइरहेको अवस्थामा देखेपछि उद्धारको प्रयासको क्रममा समेत चोट लागेको उद्धारमा पुगेका एक्याप जोमसोमका प्रमुख निरु थापाले बताए ।
“दुईवटै खुट्टामा चोट लागेको छ । गम्भीर अवस्थामा भेटिएकाले उपचारका लागि सदरमुकाम जोमसोम ल्याउने तयारी भइरहेको छ । सोमबार साँझ करिब ७ बजे भेटिएको चितुवालाई सवारीसाधनको प्रयोग गरेर सदरमुकाम जोमसोम ल्याउने तयारी भइरहेको छ ।
लोप हुँदै गएको हिमचितुवाको संरक्षणमा एक्यापले स्थानीयवासीसँग सहकार्य गरेर संरक्षणको पहल भइरहेको अवस्थामा लुकिछिपी सिकार समेत गर्ने गरिएको एक्याप प्रमुख थापाले जानकारी दिए ।
उपल्लो मुस्ताङको छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिमचितुवा देखिने गरेका छन् ।
‘हिमाली रानी’ समेत भनिने चितुवाको दैनिकी, समस्या र सङ्ख्यालगायतको अवस्था हेर्न घमिलेक, घार गुम्बा लेक, दामोदर कुण्ड, माजुङलगायतका स्थानमा राखेको अत्याधुनिक बेसनेल क्यामराका लिइएको विवरणअनुसार सङ्ख्या बढिरहेको अनुमान एक्यापले गरेको छ । रिमोटबाट चल्ने क्यामेराबाट ट्यापिङ गर्ने कार्य भइरहेको छ । रासस