पाल्पा, ४ साउन । जिल्ला अदालत पाल्पाले छिटो छरितो न्याय सम्पादन गर्ने हेतुले मुद्दा फछ्र्योट गर्न थालेपछि पटकपटक अदालत धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीले राहत पाएका छन् ।
छिटो छरिटो न्याय सम्पादन गर्न थालेपछि एउटै मुद्दाका लागि महिनैपिच्छे अदालत धाउनुपर्ने बाध्यता हटेसँगै अदालतमा मुद्दा फछ्र्योट हुने सङ्ख्या बढेको छ । अदालतमा सबैका लागि पहुँच पुर्याउनका लागि छिटो छरितो सेवा प्रदान गरेपछि सेवाग्राहीलाई फाइदा पुग्ने भएको हो ।
गत आवमा जिल्ला अदालत पाल्पाले ३३४ थान मुद्दा फछ्र्योट गर्न सफल भएको हो । गत आव २०७२/७३ मा अघिल्लो वर्षको सरी आएका ६५ गरी ४२२ थान मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए ।
छिटो छरितो न्यायका सबैका लागि न्याय भन्ने नाराका साथ अदालतले एक वर्षभित्र अदालतमा दर्ता भएका सबै प्रकारका मुद्दाको फछ्र्योट हुनुपर्ने व्यवस्थाअनुरुप जिल्ला अदालत पाल्पाले मुद्दा फछ्र्योट गर्दै आएको न्यायाधीश डिल्लीरमण तिवारीले बताए ।
गत आवमा अदालतले ३३७ थान मुद्दा फैसला गर्नुपर्ने बाध्यता नै थियो । सोहीअनुरुप अदालतले ३३४ थान मुद्दा फछ्र्योट हुन सफल भएको जनाएको छ । अदालतमा ८८ थान मुद्दा अझै बाँकी रहेका छन् ।
अदालतमा एक वर्षभित्र फछ्र्योट हुनुपर्ने एउटा पनि मुद्दा नरहेको जनाइएको छ । मुद्दा एक वर्षभित्र फछ्र्योट गर्नुपर्ने कानुनी बाध्यता रहेकाले मुद्दा फछ्र्योट छिटो छरितो भएको हुँदा सेवाग्राहीलाई फाइदा पुगेको हो ।
देवानीतर्फ १३४ थान मुद्दा अदालतमा दर्ता भएकोमध्ये गत आवमा ९५ थान मुद्दा फछ्र्योट भएका छन् भने ३९ मुद्दा बाँकी रहेको अदालतका सेस्तेदार सुवर्ण खनालले बताए ।
त्यसैगरी, फौजदारीतर्फ १६३ थान मुद्दा अदालतमा दर्ता भएकामध्ये गत आवमा १३२ थान मुद्दा फछ्र्योट भएका छन् भने ३१ मुद्दा फैसला हुन अझै बाँकी रहेका छन् ।
सरकारीवादी फौजदारीतर्फ १२५ थान मुद्दा अदालतमा दर्ता भएकोमा १०७ थान मुद्दा फछ्र्योट भएसँगै अदालत सुधार हुन थालेको महसुस सेवाग्राहीले गर्न थालेका छन् । रासस