काठमाडौं, ३ साउन । एमाले अध्यक्ष केपी ओलीलाई दिएको सर्मथन फिर्ता लिदै नेपाली कांग्रेससंग गठबन्धन बनाएको बिषयमा माओवादी केन्द्रमा पनि विवाद देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेडक्वाटर बैठकमा आत्मालोचना गरेका छन् ।
सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा अघि नबढेको भन्दै पार्टीभित्र आलोचना भएपछि दाहालले कमजोरी स्वीकार गरेका हुन् । आफ्नै निवास लाजिम्पाटमा आइतबार बसेको बैठकमा दाहालले सरकारबाट बाहिरिने निर्णय गर्दा पार्टी पद्दतिअनुरुप संस्थागत निर्णय गर्ने कुरामा केही कमी कमजोरी भएको स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।
दाहालले आत्मालोचना गरेसँगै पार्टीभित्रको विवाद अन्त्य भएको बताइएको छ । आगामी दिनमा संस्थागत निर्णय गरेर अघि बढ्ने प्रचण्डले बैठकमा प्रतिवद्धता जनाएका छन् । निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो ।
तर, यसमा बहस गर्दै जाने र पार्टीको निर्णयलाई एकतावद्ध भएर कार्यान्वयन गर्ने आइतबार सहमति जुटेको नेताहरुले दाबी गरेका छन् ।पार्टीको संगठनात्मक विषयअन्तरगत पोलिटब्यूरो, सचिवालय लगायतलाई पूर्णता दिनबारे भने आइतबार छलफल भएन । यसबारे सोमबार विहान ८ बजे पुनः बस्ने बैठकमा छलफल हुने पार्टी नेता अग्नि सापकोटाकाले जानकारी दिए ।
आइतबारको बैठकले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पास गराउन एकतावद्ध भएर लाग्ने निर्णयसमेत गरेको बताए । सापकोटाका अनुसार आइतबारको बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिघटनाको ब्रिफिङ गरेका थिए । शनिबार संविधानविदहरुसँग भएको छलफलका विषयमा पनि अध्यक्षले बैठकमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: ३ श्रावण २०७३, सोमबार ०७:४८