सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैं लक्षित सहुलियत पसल सुरु गरेको छ।
कम्पनीको सुर्खेतस्थित प्रदेश कार्यालयले सल्यान बाहेक कर्णालीका नौ वटै जिल्लामा सहुलियत पसल सुरु गरेको जनाएको हो।
कम्पनीका प्रदेश प्रमुख माधव मिश्रले चाडपर्वमा जनताले सहुलियत रुपमा खाद्यान्न प्राप्त गर्न सकुन् र कालोबजारी नियन्त्रण होस् भन्ने हेतुले दशैंलक्षित सहुलियत पसल सुरु गरेको बताउनुभयो।उहाँले २०६८ सालदेखि सहुलियत पसल संचालनमा आएको होभने २०७३ देखि देशभर सहुलियत पसल संचालनमा ल्याइएको हो।यवर्ष कम्पनीले प्रति परिवारलाई चार वोरा चामल दिनेछ।
स्टिम जिरा मसिनो चामल प्रतिकेजी ६० रुपियाँ, सोना मन्सुली चालम प्रतिकेजी ४३ रुपियाँ, मोटा चामल प्रतिकेजी ४० रुपियाँ, बासमती चामल प्रतिकेजी ९८ रुपियाँमा विक्री गर्ने कम्पनीले जनाएको छ।यस्तै अरहर दाल प्रतिकेजी १७१ रुपियाँ, मासको दाल प्रतिकेजी १३८ रुपियाँ र मल्का मसुरो दाल प्रतिकेजी १४८ रुपियाँमा विक्री हुनेछ।
यी सवैमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ।सहुलियत पसलको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनतालाई लक्षित गरी ल्याइएको सहुलियत पसलबाट विचौलिया नभइ जनताले नै खाद्य खरिद गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो।उहाँले सहुलियतले जनतालाई थोरै भएपनि राहत पुग्ने बताउनुभयो।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख जीवनारायण बञ्जाडे, सुर्खेत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सिंहराज बम, उपभोक्ता अधिकार मञ्चका प्रदेश प्रमुख आकाश तारा बयक, पत्रकार महासंघका अध्यक्ष ललित बसेलले सहुलियत पसलबाट अत्यधिक लाभ लिन आग्रह गर्नुभएको थियो।
सहुलियत पसल आगामी कात्तिक १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार २०:३४