हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन।
सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन्।
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ।
सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरुले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ।
चालु आर्थिक वर्ष २०७८÷७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरुले गुनासो गरेका हुन्।
स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताउनुभयो।
यसभन्दा पहिले रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफै अन्यौलमा परेका छन।
स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो।
भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उहाँको भनाइ छ।
प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उहाँको भनाइ छ।
जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एकलाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् ।
प्रकाशित मिति: २९ असार २०७९, बुधबार १५:४७