सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा चन्द्रलाल आचार्य पुनःनिर्वाचित हुनुभएको छ । आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको उन्नाइसौं वार्षिक साधारणसभाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समितिलाई निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रेमप्रसाद चालिसे, सचिव राधाकुमारी ढकाल र कोषाध्यक्ष ताराकेशर पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा चित्रा वली, खगिकुमारी वास्तोला, हिरा बुढा मगर, डिले वली, काँशीमाया राना, प्रमिला खत्री वि.सी. र यामकुमारी हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै लेखा समितिमा हेमलाल पन्त संयोजक तथा हरिमाया पुलामी र तिलक खनाल सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सहकारी ऐन तथा नियमावली अनुसार विभिन्न ७ वटा एकाई बैठक पश्चात उक्त एकाई बैठकहरुबाट चयन भएका एकाई प्रतिनिधिहरुको सभा मार्फत आज संस्थाको उन्नाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले बताउनु भयो ।
सो अवसरमा बोल्दै संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले कर्णाली प्रदेशका विकट जिल्लाका विपन्न परिवारसँग लघुवित्त कार्यक्रमको माध्यमबाट हातेमालो गर्दै उनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साथै जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव राधाकुमारी ढकालले प्रस्तुत गरेको चालु आ.व. २०७८/०७९ को ६ अर्ब ४५ करोड १० लाख ५१ हजार ३ सय ११ रुपैयाँ ९९ पैसाको संशोधित र आगामी आ.व. २०७९/०८० को ७ अर्ब ३७ करोड ८५ लाख ४ हजार २ सय ८६ रुपैयाँ ९९ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको कार्यकारी प्रवन्धक आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी वार्षिक साधारणसभाकै अवसरमा संस्थाको आ.व. २०७७/०७८ को अवधिमा उत्कृष्टता हासिल गर्ने उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा प्राथमिक एवं उच्च शिक्षा छात्रवृत्ति लगायतका पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभामा संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, संस्थाका सदस्यहरु अनन्तप्रसाद पौडेल, रिताकुमारी वली लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति: १९ पुष २०७८, सोमबार १८:२०