सुर्खेत । कर्णालीमा थप १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बिहिवार थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय २४ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका ८६ जना र सुर्खेतका ३४ जनालाई कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७२२ पुगेको छभने सुर्खेतमा २७१ पुगेको छ । सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परका छैनन् ।
त्यसैगरी बिहिवार नै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट ३ जना जना गरी कुल ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ५ पुगेको छ । बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ४ असार २०७७, बिहीबार १७:०२