जाजरकोट । जाजरकोट भेरीनगरपालिका वडा नम्बर ३ का अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले निजी लगानीमा ७२ विपन्न परिवारलाई चामल, दाल, तेल र नुन वितरण गर्नु भएको हो ।
नेपाली कांग्रेसबाट सोही वडाको वडा सदस्य निर्वाचित हुँदै जिल्ला समन्वय समितिमा पुगेका शाहले लामो समयको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएका विपन्न परिवारलाई सहयोग गरेको बताउनु भयो ।
वडा कार्यालयले दिएको विपन्न परिवारको सुचीका आधारमा विपन्न परिवार छनौट गरि सहयोग गरिएको उहाँको भनाई छ । उहाँले प्रतिपरिवार ३० केजी (एक कठ्ठा) चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गर्नु भएको हो ।
दैनिक गुजरा चलाउन समस्या परिरहेको बेला गरिएको सहयोगले आफुहरुलाई ठुलो सहयोग पुगेको ति परिवारले बताएका छन् । कोही नहुनेको दैव हुन्छ भन्थे । साँची रहेछ स्थानिय सन्तोकी नेपालीले भन्नुभयो—‘पेट भरी खान नपाएको धेरै दिन भो । खान नपाएर मरिन्छ कि भन्ने पिर थियो अव भने केही दिनलाई ढुक्क भो । हामीलाई खान दिने हाम्रो लागि उहाँ भगवान हो ।’
दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउँदै आएका थियौ तर लकडाउनले घरबाट काममा निस्कन नपाएको १३ दिन भो । काममा जान नपाउँदा विहान बेलुकाको छाक टार्न निकै समस्या परिरहेको थियो । निःशुल्क पाएको खाद्यन्नले ठुलो राहत मिलेको स्थानीय संगिता नेपालीले बताउनुभयो ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विपद्को बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताउनुभयो । विपन्न परिवारलाई सहयोग गर्ने मनकारी शाहलाई धन्यवाद दिदै उहाँले नगरभित्रका विपन्न परिवारको लगत संकलनको भैरहेको र केही दिनमै विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराइने बताउनुभयो ।
प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार ०७:३९