जाजरकोट । नेपाली कांग्रेसका महासमिति सदस्य रत्नबहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराउनु भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को रोकथाम तथा नियन्त्रणका लागि खड्काले व्यक्तिगत लगानीमा स्वास्थ्यकर्मीका लागि एक सय सेट पिपिइ उपलब्ध गराउनु भएको हो ।
व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी नै जोखिममा रहेको जानकारी पाएपछि आफुले सहयोग गरेको खड्काले बताउनुभयो ।
नेपाल निर्माण ब्यवसायी संघका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका खड्काले उक्त सामग्री मंगलवार स्वास्थ्य सेवा कार्यालय आयोजित एक कार्यक्रममा विच हस्तान्तरण गर्नु भयो ।
उहाँले स्वास्थ्य सेवा कार्यालयलाई ३५ सेट, भेरी, छेडा र नलगाड नगरपालिकालाई १०÷१० सेट, बारेकोट, कुशे, शिवालय र जुनीचाँदे गाँउपालिकालाई ५÷५ सेट, जिल्ला विपद् व्यवस्थापन समितिलाई १० सेट र अन्य निकायलाई ५ गरी एक सय सेट पिपिइ सम्बन्धितलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री स्थानीय तह मार्फत उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपलब्ध गराईने भएको छ ।
सरकारले नै पिपिइ पुरयाउन नसकेको गुनासो बढीरहेका बेला खड्काले गरेको सहयोगले स्वास्थ्यकर्मीलाई ठुलो राहत मिल्नेछ । विरामीको लागि रातदिन खटिने सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षाका लागि आफुले पिपिइ उपलब्ध गराएको उहाँले बताउनु भयो । ‘महाविपतको बेला मेरो सानो सहयोगले पनि स्वास्थ्यकर्मी ठुलो सहयोग पुग्ने मेरो विश्वास छ विरामीको उपचारमा संलग्न हुनु पर्ने स्वास्थ्यकर्मी नै असुरक्षित भए कसले उपचार गरिदिने ? त्यही भएर मैले सहयोग गरेको हुँ’ उहाँले भन्नु भयो ।
जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले व्यक्तिगत लगानीमा अत्यावश्यक पिपिइ उपलब्ध गराएर ठुलो सहयोग गरेकोमा खड्कालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो—‘कोरोना विरुद्धको लडाँइमा राज्यलाई सहयोग पुग्ने गरी गरिएको ब्यक्तिगत सहयोग एकदमै सह्रानिय छ । यस विपत्तिमा सवैले आ आफ्नो ठाँउबाट सहयोग गरौ । विपत्ति विरुद्ध एक जुट भएर लडौ ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पनि व्यक्तिगत लगानीमा स्वास्थ्यकर्मीका लागि पिपिइ उपलब्ध गराएर सहयोग गरेकोमा खड्कालाई धन्यवाद दिनुभयो ।
पिपिइ हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार २१:११