सुर्खेत । कर्णाली प्रदेशमा जडिबुटी संकलन र भण्डारण केन्द्र नहुँदा निकै समस्या हुने गरेको छ । यहाँ पर्याप्त जडीबुटी पाइने भएपनि अहिलेसम्म सरकारी तवरबाट संकलन र भण्डारणकालागि कुनै पहल नहुँदा जडीबुटी खेर जाने र विदेशमा अवैध निकासीसमेत हुँदै आएको पाईएको छ ।
कर्णाली जडिबुटी उत्पादक सहकारी तथा प्रशोधन उद्योगका अजबहादुर गिरीले जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा एउटापनि संकलन र भण्डारण केन्द्र नहुँदा निकै समस्या खेप्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार कर्णालीमा एक सय ४७ जातका जडीबुटी पाइने अनुमान गरिएपनि प्रशोधन त परैको कुरा, संकलन र भण्डारण गर्ने ठाउँसमेत छैन ।
गिरीले भण्डारणकालागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता भएको बताउँदै यहाँको अधिकांश जडीबुटी बाह्य देशमा निकासीसमेत हुँदै आएकोमा दुखेसो गर्नुभयो । कर्णालीमा जडिबुटी संकलन भण्डारण हुन जरुरी रहेको बताउँदै उहाँले यहाँका जडिबुटीलाई संकलन गर्नका लागि कर्णालीका १० वटै जिल्लामा भवन बनाउनुपर्ने जरुरी रहेको जनाउनुभयो ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकरप्रसाद रिजालले आयुर्वेद औषधालय कर्णालीमा १२ वटा औषधी उत्पादन गरिदै आएको बताउनुभयो । उहाँका अनुसार औषधालयले अश्वगन्धा, आमलकी, त्रिफला, अविपतिकर, वेदनाशामक तेल, सत्तोपलादि अमृत पेय जस्ता जडीबुटी बनाउने गरेको छ । तर यसको बजारीकरण गर्न सकिएको छैन । उहाँले जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा एउटा पनि संकलन र भण्डारण केन्द्र नभएकाले प्रशोधन नभएको गुनासो गर्नुभयो । कर्णालीमा पाइने जडीबुटीको पहिचान गरी प्रदेशमै प्रशोधन गरेर बजारीकरण गर्न सरकारी प्रयासको खाँचो देखिएको उहाँले बताउनुभयो ।
झण्डै तीन वर्षअघि सुर्खेतमा निर्माण गर्न थालिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र जस्तै छ । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले पाँच सय क्विन्टल क्षमताको केन्द्र निर्माण सक्न साढे तीन करोड लाग्ने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार ७० प्रतिशत काम सकिएको केन्द्रको बाँकी कामभने बजेट अभावले रोकिएको छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलवार १५:०४