सुर्खेत । नेपालमा कोरोना भाइरस नआएपनि सामान्य ज्वरो, रुघाखोकीका आधारमा कोरोनाको त्रास देखाउने काम भएकोले त्यस्ता गतिविधिहरु नगर्न आव्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यहाँका औषधि व्यवसायीहरुसंग गरेको छलफलमा कोरोनाको डर त्रास देखाउने काम बढी भइरहेको भन्दै त्रास देखाउने काम नगर्न आव्हान गरिएको हो ।
कोरोनालाई देखाएर मास्क तथा औषधिहरु लुकाइ कालोबजारी नगर्न, रुघाखोकीका विरामीहरुलाई कोरोना हो भन्ने सुझाव नदिन आग्रह गरिएको छ । १०४ डिग्रीभन्दा माथि ज्वरो आएमा सो विरामी १४ दिन अगाडिदेखि कहाँबाट आएका हुन् भनेर सोध्न जिल्ला जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लले सुझाव दिनुभयो । उहाँले मेडिकलमा आउने बिरामीमाथि कोरोनाको शंका देखिएमा तत्काल प्रदेश अस्पताललाई खबर गरिदिन भन्नुभयोे । उहाँका अनुसार मौसम फेरवदल भएकोले सामान्य रुघाखोकी, ज्वरो आउन नै कोरोनाको लक्षण होइन । यद्यपि १०४ डिग्रीमाथि ज्वरो आएमा विरामीलाई दुई हप्ता अगाडिदेखिको पृष्ठभूमि सोध्न उहाँले सुझाव दिनुभएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मास्क, औषधिमा कालोबजारी नगर्न सुझाव दिनुभयो । उहाँले जटिल परिस्थितिको सामना सवैले गर्नुपरेको हुँदा व्यवसायिक मर्यादामा बसेर व्यवसाय गर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले कोरोनाको त्रास फैलाइएकोले चुनौती बढेको बताउनुभयो । उहाँले सवै रोगबाट सतर्क रहन आग्रह गर्दै जिल्लाभित्रका सरोकारवाला सवैलाई सतर्क रहन निर्देशनसमेत दिइसकिएको जनाउनुभयो । उहाँले कोरोनाबाट डराउनुपर्ने अवस्था नभएपछि सजग हुनुपर्ने बेला भएको उल्लेख गर्नुभयो ।
पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले सामान्य रुघाखोकी लागेकालाई पनि कोरोनाको आशंका गरेर त्रास फैलाउने काम गरिएको जनाउनुभयो । उहाँले यस्ता त्रास फैलाउने काम नगर्न सवैलाई आग्रह गर्नुभयो ।
यता औषधि व्यवसायीहरुले पनि कोरोनालाई त्रासको रुपमा फैलाइएको बताएका छन् । औषधि व्यवसायी माया नर्सिङ होमका संचालक विष्णुबहादुर खड्काले मास्कहरु सुर्खेतका कुनैपनि औषधि पसलहरुमा पर्याप्तमात्रामा नभएको जनाउनुभयो । उहाँले सिटामोललगायतको औषधि तत्काललाई उपलव्ध भएपनि मास्क भने नभएको उल्लेख गर्नुभयोे । यस्तै सुपत पोलिक्लिनिकका प्रेम भण्डारीले अहिले रुघाखोकी र ज्वरोका विरामीहरुको संख्या बढेपनि कोरोना नै नभएको भन्दै शंका लागेमा प्रदेश अस्पतालमा खबर गर्ने जानकारी दिनुभयो ।
प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार १७:२४