सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस प्रदेशमा छिर्न नदिनकालागि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क स्थापना गरको छ । चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वभरमा प्रकोपको रुप लिँदै गएपछि कर्णालीमापनि सतर्कता अपनाउन थालिएको छ ।
प्रदेश सरकारले विहिबार काठमाडौंबाट सुर्खेत भित्रिने नागरिकको चेकजाँच गरेर हेल्थ डेस्क स्थापना गरेको हो । आज पहिलो दिन काठमाडौंबाट सुर्खेत प्रवेश गरेका ३७ जनाको चेकजाँच गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सहायता कक्षमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित ३७ जनाको स्वास्थ्य जाँच गरिएको हो । जाँच गरिएका ३७ जना मध्ये एकजनामा सामान्य ज्वरोको लक्षण बाहेक अरुकुनै पनि लक्षण देखा नपरेको जनस्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिनुभयो । उहाँले विभिन्न देशमा भाइरसको संक्रमण फैलिरहेकाबेला कारोना भाइरस भए नभएको पत्ता लगाउन सहायता कक्षा स्थापना गरिएको बताउनुभयो ।
प्रदेश सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश नं. ५ को बबई, सल्यान कपुरकोटमा हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले कोरोना भाइरसका सम्बन्धमा जिल्लाहरुमा जनचेतनामूलक अभियान चलाएको छ । निर्देशनालयका निर्देशक रिता भण्डारीले प्रचार प्रसारदेखि जोगिने तरीकाका बारेमा नागरिकस्तरसम्म सबै प्रकारका सुचनाहरु सरोकारवाला निकाय सम्ममा पु¥याएको बताउनुभयो । कोरोना संक्रमणका बिरामी फेला परेमा प्रदेश अस्पतालमा आईसत्तलेशन कक्षको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
संक्रमण हुन नदिनका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको उहाँको भनाई छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई बिदा नबस्नसमेत निर्देशन दिएको छ ।
प्रदेशका सबै जिल्ला तथा प्रदेश अस्पतालमा पत्रचार गर्दै स्वास्थ्य कर्मचारीलाई काज तथा बिदामा नपठाउन निर्देशन दिइएको निर्देशक भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार १७:०४