सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कर्णालीको पर्यटन, खानी खनिज र जडिबुटीमा लगानीको आवश्यकता भएको बताउनु भएको छ । कर्णालीमा लगानी गर्दा खेर नजाने उहाँको भनाइ छ । पर्यटन र जडिबुटीबाटै कर्णाली प्रदेश मात्र होइन देश नै समृद्ध बनाउन सकिने तर त्यसका लागि लगानीको आवश्यकता भएको अध्यक्ष राणाले बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवनको विहीवार सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष राणाले प्रदेश विकासको लागि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने भन्दै कर्णालीका नीति नियम, विकास र आर्थिक विषयमा निजी क्षेत्रसँग सहकार्य गर्नसमेत सुझाब दिनुभएको छ ।
कर्णाली प्रदेशको समृद्धि गर्न संघीय सरकार, प्रदेश सरकारले सडक र हवाई पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेशमा रहेका निजी क्षेत्रले प्रदेश सरकारसँग जडिबुटी र कृषिका लागि केही पहल गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले कर्णालीमा लगानी भित्र्याउन केन्द्र सरकारसंग दवाव र पहल गर्ने बताउनुभयो ।
कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भएपनि पर्यटन, खानीखनिज र जडिबुटीहरु खेर गइरहेको हुँदा महासंघले त्यसलाई सदुपयोग गर्न संघीय सरकारसंग दवाव र पहल गर्ने उहाँले जनाउनुभयो । महासंघ ठूला मात्र नभएर साना तथा मझौला उद्योगलाई समेत सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । प्रदेशमा योजना निर्माण गर्दा निजी क्षेत्रलाई समेत समावेश गर्नसके प्रभावकारी हुनेमा उहाँले जोड दिनुभयो । लगानी र व्यवसायीमैत्री नीति निर्माण गर्न पनि उहाँले सुझाउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशमा लगानीको आवश्यकता रहेको बताउनुभयो । ठूलो लगानी नआएसम्म यहाँको आर्थिक विकास हुन नसक्ने भएकोले यसमा संघीय सरकारले विशेष चासो दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कँडेललगायतले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताउनुभयो । महासंघको प्रदेश भवन करिव ४० लाखको लागतमा निर्माण भएको हो । महासंघले आयोजना गरेको महोत्सवमा संकलन भएको रकमबाट भवन बनाइएको प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो ।
प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार १८:१३