सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोरलेन सडक बनेदेखि पैदल यात्रीहरुलाई हिड्न सकस बढेको छभने सडकमा तीव्र गतिमा हुईंकने सवारी साधनबाट उनिहरुको ज्यान जोखिममा परेको छ । सडक चौडा भएपनि त्यसमा फुटपाथ नहुँदा पैदलयात्री तथा साइकल यात्रीहरु जोखिममा पर्ने गरेका हुन् ।
सुर्खेत उपत्यकाको प्रवेशद्वारा सुव्वाकुनादेखि बांगेसिमलसम्मको करिव नौ किलो मीटर सडकमा फुटपाथको व्यवस्था नै गरिएको छैन । जसका कारण पैदल यात्रु र साइकल यात्रुले सहजै हिंड्न सक्दैनन् । फोरलेन सडक जति नै ठूलो भएपनि पैदल यात्रुका लागि फुटपाथ नै नुछट्याएकोले हिंड्न सकस भएको नागरिकहरु बताउँछन् ।
फोरलेन सडकमा फुटपाथ भनेर छेउमा सेतो धर्का लगाइएको छ तर त्यो धर्का यता हिंड्ने ठाउँ नै छैन । केही खाली ठाउँ भएपनि त्यसमा सामान लोड अनलोड गर्ने, व्रिगेका गाडीहर मर्मत गर्ने हुँदा फुटपाथ अतिक्रमण भएको छ ।
स्थानीय नवराज बुढाले फोरलेन सडकमा फुटपाथ नहुँदा पैदल यात्रुको लागि जोखिम भएको बताउनुभयो । उहाँले यति ठूलो सडक बनाउँदा गाडीलाई मात्रै ध्यानमा राखिएको तर पैदलयात्रीलाई ध्यान नदिएको आरोप लगाउनुभयो । फुटपाथको धर्का लगाइएपनि गाडीहरुले पार्किङ गर्ने स्थल बनाएको हुँदा हिंड्नै सकस भएको उहाँको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका सडकको व्यबस्थापनमा ध्यान नदिदा दुर्घटनाको जोखिम बढेको जनाएको छ । अधिकांश दुर्घटना सडक व्यबस्थापनमा कमजोरी भएका कारण हुने गरेको कार्यालयले जनाएको छ । सुर्खेत जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिंजापतिले वीरेन्द्रनगरका सडकमा अनिवार्यरुपमा फुटपाथ र जेब्राक्रसिङको व्यबस्था गर्नुपर्ने बताउनुहुन्छ । फुटपाथको व्यबस्था गर्न सकेमा मात्र दुर्घटनामा कमी ल्याउन सकिने उहाँको भनाइ छ । यस विषयमा नगरपालिकाले आश्वासन दिने गरेको भएपनि कार्यान्वयन भने हुन नसकेको उहाँले जनाउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाले भने बजार क्षेत्रभित्र सामान्य फुटपाथ निर्माणका विषयमा योजना बनाएको जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदीले फुटपाथको लागि नगरपालिकासँग ठूलै योजना नभएपनि सामान्य योजनाबाट केही समयपछि टेन्डर आह्रवान गरी काम गर्ने बताउनुभयो । उहाँ नगरको कार्यक्षेत्रभित्र रहेका सडकहरुमा फुटपाथको व्यवस्था मिलाइने तर फोरलेन सडक आफूहरुको क्षेत्राधिकारभित्र नपर्ने बताउनुहुन्छ ।
यता फोरलेन सडक निर्माणको जिम्मा लिएको सडक डिभिजन कार्यालय सुर्खेतले रत्नराजमार्गमा फुटपाथको व्यवस्थाका लागि बजेट माग गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले सडकमा फुटपाथ आवश्यक रहेकाले सडक विभागमा पहिलेदेखि नै बजेट माग गरेको जानकारी दिनुभयो । उहाँले फोरलेन सडकमा फुटपाथको व्यवस्था गर्न मात्रै १० करोड बजेट लाग्ने अनुमान गर्नुभयो । बजेट माग गरिएको र आउनासाथ फोरलेनमा फुटपाथ निर्माण थालिने उहाँको भनाइ छ ।
प्रकाशित मिति: २९ माघ २०७६, बुधबार १६:०१