सुर्खेत । तीन तहकै सरकारले पर्यटन भ्रमण वर्ष २०२० सफल तुल्याउन निकै खर्चिलो प्रचारप्रसार गर्दै आएपनि पर्यटक भित्र्याएर गन्तव्यसम्म पु¥याउने कुनै प्रभावकारी योजना बनाएको देखिदैन । कर्णाली प्रदेश जस्तो पयर्टनको प्रचुर सम्भावना भएको प्रदेशमा समेत पर्यटन पूर्वाधार विकासका आधारभूत काम गर्न नसक्दा भ्रमण वर्ष सरकारी नारामै सिमित भएको देखिन्छ ।
अघिल्लो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कर्णाली प्रदेशले रारा तालबाट कर्णाली रारा पर्यटन वर्ष घोषण गर्यो । त्यति बेला मुस्किलले पाँच सय पर्यटक गन्तव्यमा पुगे । तर प्रचारप्रसार तथा उद्घाटनका नाममा ७८ लाख रुपैयाँ खर्च गरियो । ठूलो तामझाम गर्दै घोषणा कार्यक्रमकै लागि १८ लाख रुपैयाँ खर्च गरियो । तर अहिले सम्म संघीय सरकारका २१ र प्रदेश सरकारका ४० पर्यटकीय गन्तव्यको पूर्वाधारको सुधार तथा विकास हुन नसक्दा गन्तव्यको प्रचारप्रसारमा गरिएको लगानी बालुवामा पानी जस्तै भएको होटल व्यवसायीको गुनासो छ ।
होटल व्यवसायी जिल्ला संघका अध्यक्ष गोरख रावतले कर्णालीमा पूर्वाधारको विकास नभएकै कारणले पर्यटक नआउने गरेको गुनासो गर्नुभयो । ‘गत वर्ष आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल निकै हुन्थ्यो तर यो वर्षभने पर्यटको चहल पहल खासै देखिएको छैन उहाँले भन्नुभयो होटलहरुमा पनि शुन्य नै छन् पर्यटक नआउँदा हामी होटल व्यवसायीलाई साह्रै समस्या परेको छ ।’ कतिपय आएका पर्यटक पनि सडकको समस्याका कारण दुख पाएको बताउने गरेको अध्यक्ष रावतले बताउनुभयो । उहाँले संघीय र प्रदेश सरकारले सूचीकृत गरेका पर्यटकीय गन्तव्यसम्म पुग्न सडकको पहुँच र आवश्यक पूर्वाधार विकासमा चासो दिन जरुरी रहेको बताउनुभयो ।
होटल व्यवसायी तर्क शाहीले पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउन निकै खर्चिलो प्रचारप्रसार गरेपनि वीरेन्द्रनगरका होटलहरुमा पर्यटक नआउने गरेको बताउनुभयो । कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको जति प्रचारप्रसार गरेपनि अहिलेसम्म त्यसको प्रभावकारी नदेखिएको उहाँको भनाई छ ।
संघीय सरकारले गत वर्ष निर्धारण गरेका एकसय पर्यटकीय गन्तब्य स्थल मध्ये कर्णालीका २१ स्थल समेटिएका छन् । प्रदेश सरकारले पनि ४० गन्तव्यलाई उत्कृष्ट स्थल भनेको छ । तर तिनै पर्यटकीय गन्तव्यमा पूर्वाधारको अभाव छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आर्चायले कर्णालीमा पर्यटक भित्र्याउनका लागि प्रदेश सरकारले योजना अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कर्णालीमा आउने पर्यटकको इच्छा, आकांक्षा अनुसारको पूर्वाधारको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । सडक पुगेका स्थलहरुमा पनि पर्यटकका लागि न्युनतम् मनोरञ्जनका साधन, सुरक्षा, उचित खानपिन, र बसोवासका लागि उचित व्यवस्थापन छिटै गरिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १६:४१