सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक सेनेटरी प्याड उत्पादन शुरु गरिएको छ । वीरेन्द्रनगर ११ पिपिरामा ‘सुपर सेफ्टिी’ नामक सेनेटरी प्याड उद्योगले स्थानीय स्तरमा पहिलो पटक सेनेटरी प्याड उत्पादन शुरु गरेको हो ।
पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालनमा ल्याएको ‘द सुपर वली इन्डष्ट्रीज’उद्योगका सञ्चालक सुरेश कुमार वलीले जानकारी दिनुभयो । एक करोड १५ लाख रुपैयाँको लागतमा उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।
उद्योगमा अहिले १० जना कर्मचारीसमेत राखिएको छ । उहाँले ३ वटा मेसिनसँगै बिभिन्न औजार उपकरण खरिद गरेर सेनेटरी प्याड उद्योग सञ्चालन गरेको बताउनुभयो ।
यहाँ उत्पादित प्याड कर्णाली प्रदेश सँगै छिमेकी जिल्लाहरुमा समेत निर्यात गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशका जिल्लाहरुमा बाहिरबाट प्याडहरुको निर्यात हुने गर्छ, बजार राम्रो भयो भने प्रति दिन १ लाख पचास हजार सम्म उत्पादन गर्ने लक्ष्य राखेको छु ।’
सञ्चालक वलीले अक्सीजन प्वाल सहितको विभिन्न प्रकारका प्याडहरु उत्पादन गरिरहेको बताउनु भयो । २३० एम एम, २८० एम एम र ३२० का विभिन्न साइजका प्याडहरुको क्षमता १२ घण्टासम्म हुने वलीले बताउनु भयो ।
सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याडभन्दा स्थानीय उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको उहाँले जनाउनुभयो ।
‘अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ, जसले गर्दा विभिन्न संक्रमण देखा पर्दछ, उपचारको लागि हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सेनेटरी प्याड किन्दा केही महँगो पर्दछ्, तर स्वास्थ्यमा केही समस्या आउँदैन, प्रयोग गर्ने सजिलो पनि हुन्छ ।’
उहाँका अनुसार यो प्याड कागज र अन्य कुहिने सामग्रीबाट बनेकोले वातावरणीय दृष्टिकोणबाट समेत सुरक्षित रहेको छ ।
प्रकाशित मिति: २२ माघ २०७६, बुधबार १०:४७