सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको लाटीकोइलीमा २१ फिट अग्लो अर्धनागेश्वरको मूर्ति निर्माणको काम शुरु गरिएको छ । स्मार्ट शिव मन्दिर बनाउने उद्देश्य अनुरुप बनाइएको गुरुयोजनाका आधारमा सो मूर्ति निर्माण कार्यको शुरुवात गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को लाटीकोइलीमा रहेको शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्ने हेतुले २०७५ साउनमा धार्मिक शिव महामहोत्सवको आयोजना गरिएको थियो । महामहोत्सवबाट करिब एक करोड बढि रकम संकलन भएको र खर्च कटौती गरेर बचेको रकम बैंकमा राखिएको मुल आयोजक समितिका अध्यक्ष ध्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यो कार्य गुरुयोजना बनाए अनुसार कुनै सानो काम नभएकाले केही समय लाग्ने तर विश्वमै चिनिने खालको स्मार्ट शिव मन्दिर बनाउन आफुहरु हर तवरले लागि परेको मुल आयोजक समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
बाबुबाजेले धेरै वर्ष मन्दिरकै शरणमा बिताएको र आफुपनि यहि मन्दिरलाई नै घर सम्झेर बसेको हुँदा शिव मन्दिरलाई छिटै स्मार्ट शिव मन्दिरका रुपमा देख्न चाहेको मन्दिरका पुजारी अक्ष कुमार योगीले बताउनुभयो । मन्दिर व्यवस्थापन तथा महामहोेत्सव आयोजक समिति प्रति आफु ढुक्क भएकोले काम छिटै सम्पन्न हुने प्रति आफु विश्वस्त रहेको योगीको भनाई छ ।
गुरुयोजना अनुरुपको कामका लागि बजेटले नपुग्ने भएकाले सहयोग जुटाउनका लागि प्रदेश सरकारलाई प्रस्ताव पेश गरिसकिएको वडा नं.९ का वडा अध्यक्ष सुरेशकुमार मानन्धरले जनाउनुभयो । वडा नं. ९ मा रहेका मुख्य धार्मिक पर्यटकीय स्थल काँक्रेबिहार र शिव मन्दिरलाई प्रदेशकै नमूनाका रुपमा स्थापित गर्न आफु लागिपरेको उहाँले बताउनुभयो ।
उक्त मन्दिरमा हरेक वर्षको साउन महिनाको सोमबार र शिवरात्रीका दिन ठुलो मेला लाग्ने गर्छ । सबै भन्दा पुरानो शिवको मन्दिरका रुपमा परिचित यस मन्दिर आस्थाको धरोहर हो । यसै मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्ने उद्देश्यका साथ २०७५ सालको साउन महिनामा शिव महामहोत्सव सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २० माघ २०७६, सोमबार १९:०७