मुगु । मुगु जिल्लाको उत्तरी नाका तिब्वत जोड्ने गमगढी नाक्चेलाग्ना सडकको निर्माण कार्य कछुवाको गतिमा अघि बढेकाले सडक निर्माणको कामलाई तिब्रता दिई चाडै निर्माण कार्य पुरा गर्न जिल्ला वासीले माग गरेका छन् ।
कर्णालीको कला, संस्कृति र सम्पदाको अध्ययन गर्न मुगुको राराताल आएको राष्ट्रिय सरोकार तथा समन्वय समिति समक्ष जिल्लावासीले उक्त माग राखेका हुन् । जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले सरकारले बाँकेको नेपालगञ्ज जमुनाह नाका देखि मुगुको नाक्चे लाग्ना हुदै तिब्वत जोड्ने सडकको लागि छुट्याईने बजेट मुगु नपुग्ने र उतै खर्च हुने गरेको आरोप लगाउनु भयो । नाक्चे लाग्नाको नाममा छुट्याईने बजेट पहुँ चवालाको हातमा पर्ने गरेकाले यता नआउने गरेको रोकायाले बताउनु भयो ।
कर्णालीको कला, संस्कृति र भाषालाई समेत राज्यले उपेक्षा गरेकोले कर्णालीको खस भाषाको शब्दकोश तयारपारी लागु गर्नका लागि सरकारलाई दबाब दिन आग्रह गर्नु भयो ।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाहीले हरेक हिसाबले राज्यले उपेक्षा गर्दै आएको कर्णाली प्रदेशमा रहेका पुराना कला, संस्कृति, सम्पदा र सभ्यताहरुको अस्थित्व लोप हुदै गएकाले संरक्षण, सम्बद्र्धनका लागि ठोस कदम चाल्नकालागि सरकारलाई आबश्यक दवाब दिन राष्ट्रिय सरोकार समितिलाई आग्रह गर्नु भयो ।
मुगुम्कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्गक्याप्ने लामाले सरकारले सडकको विकासमा जोड दिएको खण्डमा पिछडिएको जाती, क्षेत्रको आफै उत्थान हुने बताउँदै बिश्वका चार धाम मध्ये छायाँनाथ धाम पनि मुगुम्कार्मारोङ्ग गाउँपालिकामै पर्ने भएकाले यस क्षेत्रलाई संरक्षण गर्नको लागि राज्यको ध्यान नपुगेको गुनासो गर्नु भयो । बचन बोल्ने मूर्ति, सुनले लेखेको किताबको संरक्षणमा चुनौति भएको समेत लामाले बताउनु भयो । खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन शाहीले आवश्यक पूर्वाधारको विकास विना पिछडिएको जाती र क्षेत्रको विकास संभव नहुने बताउनु भयो ।
नागरिक समाज मुगुका संयोजक रुपबहादुर मल्लले जिल्लामा चम्पा, बालो, सुनाई नरसिंह, झोरा, मागल, बाँसुरी चाँचरी लगायतका मौलिक संस्कृतिहरु लोप हुन लागेकाले संरक्षणमा राज्यले ठोस नीति अवलम्बन गनुपर्ने बताउनु भयो ।
संघीय संसद राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले रारामा आयोजना गरेको पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्थाको सम्बन्धमा विहीवार आयोजित सो कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रिय सभा भनेको कुनै बजेट बनाउने संस्था नभएकाले सरकारलाई नीतिगत रुपमा खवदारी गर्ने घचघच्याउने संस्था भएकाले मुगुको समग्र विकासका लागि सरकारको ध्यान आकर्सित गर्न दवाब दिने बताउनु भयो ।
सबैकुरा राज्यलाई मात्रै दोस थुपार्नु भन्दा विकास निर्माणका कामहरु नागरिकहरुका साथै सबै सरोकारवाला निकाय चनाखो भई लाग्नु पर्ने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । यस जिल्लाका जनताले प्रकृतिको देनलाई व्यवसाय मुलक बनाउन नसकेको बताउनु भयो ।
विकास समयअनुकुल परिमार्जित हुदै जाने भएकाले बिगतको भन्दा अहिलेको समयमा न्यायोचित बजेत बितरण हुने गरेको र आगामी दिनमा बजेट बनाउदा कर्णाली प्रदेशको अध्ययन भ्रमणबाट पाएका कुरालाई ध्यानमा राखेर बजेट बनाउन सरकारलाई दवाब दिने उहाँको भनाई थियो ।
संघीय संसद राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पावर्ती)को सभापतित्वमा उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी मुगुका अध्यक्ष सुकबिर बुढा, बृष बहादुर थापा, नेका प्रतिनिधि गजेन्द्र बहादुर मल्ल, मुगुम्कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजाल, रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनी, उद्योग बाणिज्य संघका उपाध्यक्ष रत्नसिंह मल्ल लगायतले जिल्लाको भाषा, संस्कृति, सम्पदा र विकास निर्माणको अवस्थाको बारेमा बोल्नु भएको थियो ।
राष्ट्रिय सभाको टोलीले कर्णालीको भ्रमण गरि यहाँ रहेका सास्कृति, सम्पदा, पिछडिएको क्षेत्र, समुदायको प्रत्यक्ष रुपमा अध्ययन गरि त्यसको प्रतिवेदन सरकारलाई बुझाई यहाँ रहेका लोपउन्मुख जाती, समुदाय, भाषा, संस्कृति, पिछडिएको क्षेत्र र समुदायको उत्थानको लागि प्रतिवेदन मार्फत सरकारको ध्यान आकर्षित गर्ने राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले बताउनु भयो ।
प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार १२:११