मेलम्ची । नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ । पाँचपोखरी आफैँमा एक सुन्दर गन्तव्य हो । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको सो पर्यटकीयस्थल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने स्थान हो । अझै नेपाल भर्मण वर्ष २०२० को नेपालको घुम्नैपर्ने १०० गन्तव्यमध्ये १६औँ स्थानमा पर्न सफल भएपछि स्थानीयवासी पर्यटक भित्र्याउन आफ्नो–आफ्नो क्षमताअनुसार लागिपरेका देख्न सकिन्छ ।
सफा आँगन र गोरेटो नजिकैको करेसाबारीमा लहलह अग्र्यानिक तरकारी तथा मौसमी फलफूल, गाउँले जीवनशैली, हिमाली सौन्दर्य, सेरोफेरो नै मेरो भनेर भाका हाल्दै झरेका श्वेत झरना, निश्चल स्वच्छ र हराभरा वातावरणसँगै विभिन्न पाहुनाघरको बिछट्टै मायाले जो–कोही आफँै लोभिन सक्छन् । अझै पाहुनाघरको स्वागत झनै लोभलाग्दो छ । स्वागतमा पूरै नेपाली परम्परागत परिकार खुवाइन्छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले धेरै नै क्षति गरेको भए पनि विस्तारै–विस्तारै त्यहाँको जीवनस्तर पुनः पहिलेकै अवस्थामा फर्किदैछ । अझै कतिपय पाहुना घर पहिलाको भन्दा सुधारिएर निर्माण गरिएका छन् । अहिले गाउँ–गाउँमा घरबासले पनि पर्यटकलाई झनै सहज भएको छ । गाउँले परिवेश, पारिवारिक वातावरणमा खान, बस्न पाइने भएपछि पर्यटक झनै लोभिने गरेका छन् ।
हालै ‘खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सो स्थानमा हाफ ट्रेल म्याराथन सम्पन्न भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसर पारेर पर्यटन प्रवद्र्धनका लागि हाफट्रेल म्याराथन हुने गरेको छ । यस्तै यो वर्ष पनि भएको खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकले सहभागिता जनाएका थिए । सो कार्यक्रममा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका खेलकूद विकास समितिका अध्यक्ष टासी शेर्पालगायत स्वदेशी तथा अन्य विभिन्न देशका महिला र पुरुष धावक गरी कूल १६४ सहभागी थिए ।
सो कार्यक्रम सफल बनाउन सोही क्षेत्रको गाउँपालिका अध्यक्ष टासी लामा, पर्यटन प्रवद्र्धन प्रमुख सुवास तामाङलगायत समाजसेवी, राजनीतिज्ञ, पत्रकार साथै स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रममा मुख्यतयः पयर्टनलाई लक्षित गरी विभिन्न लोक संस्कृति झल्काउने लाखेनाच, झाँकी नाच, लोकभाका, तामाङसेलो र परम्परागत वेषभूषा समावेश गरिएको थियो । पाँचपोखरीमा यो वर्ष पाँच हजार तीर्थयात्रीले मेला भरेका गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।
अध्यक्ष लामाले विगतको तुलनामा अहिले धेरै नै पर्यटक पाँचपोखरी भ्रमणमा आएको बताउनुभयो । पर्यटकको सङ्ख्या अझै वृद्धि गर्न गाउँपालिकाले विभिन्न नयाँ कार्ययोजना अगाडि बढाएको बताउँदै उहाँले भर्खरै परीक्षण गरिएको प्याराग्लाइडिङको सफलताको समेत चर्चा गर्नुभयो । पाँचपोखरीमा गत साउन २८ गते नागीडाँडादेखि गुन्सासम्म पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो । यसले गर्दा अझै यो क्षेत्रमा स्थानीयवासीलगायत अन्य क्षेत्रका पर्यटक आउने धेरै सम्भावना रहेको अध्यक्ष लामाको भनाइ छ ।
उहाँका अनुसार पर्यटकलाई नै मध्यनजर गर्दै तीन हजार २०० मिटरको उचाइमा रहेको च्योच्योडाँडामा हाइएल्टिट्युट ट्रेनिङ सेन्टरको स्थापना पनि गर्न लागिएको छ । आगामी दिनमा अझै धेरै पर्यटक भित्रनेछन् अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अरु सेवासुविधा जस्तो कि घरबास, होटल व्यवस्थापनका लागि स्थानीयवासीसँग सहकार्य गर्दै भ्रमण वर्ष २०२० लाई भव्यरूपमा स्वागत गर्न लागिपरेको छाँैँ ।” रासस
प्रकाशित मिति: १४ भाद्र २०७६, शनिबार १४:०६