सुर्खेत । नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्य र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय अभियानको साझेदार बन्नका लागि ‘डोल्पो महोत्सव’ हुने भएको छ ।
‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मुल नाराका साथ २०५१ सालमा स्थापना भएको क्रिष्टल माउन्टेन आधारभूत विद्यालयको स्थापना दिवस एवं रजत जयन्तीको अवसर पारेर भदौ २४ गतेदेखि २८ गतेसम्म महोत्सवकाे आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले जानकारी दिनु भयो । उहाँका अनुसार डोल्पो क्षेत्रको शिक्षा, स्वास्थ्य सरसफाई, सञ्चार, यातायात वातावरण तथा संस्कृतिप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन पनि महोत्सव आयोजना गर्न लागिएको हो ।
‘डोल्पो महोत्सव’ मूल आयोजक समितिको आयोजनामा सोमबार वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रममा पहिचान र महत्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उपल्लो डोल्पामा महोत्सवको आयोजना हुने संयोजक भोटेको भनाई छ ।
महोत्सवमा करिब १ करोड ६७ लाख ७५ हजार रुपैयाँ खर्च हुने संयोजक भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकास र यातायातको सुविधा नभएका कारण बढी खर्च लाग्ने भएको हो ।
आन्तरिक तथ बाह्य पर्यटन गरी १५ सयदेखि २ हजार जनाले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवमा आउने पर्यटकहरुका लागि होम स्टे तथा रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुने संयोजक भोटेले जनाउनु भयो । डोल्पा क्षेत्रलाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य बनाई समुदायको सामाजिक र आर्थिक स्तर सुधार्न समुदायमा आधारित पर्यावरणीय पर्यटनलाई प्रोत्साहन गरी डोल्पामा पर्यटन प्रवर्द्धन गर्नु पनि महोत्सवकाे उद्देश्य रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ‘डोल्पो महोत्सव’ ले डोल्पाको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउनेमा विश्वाश व्यक्त गर्नुभयो । उहाँले यस महोत्सवबाट डोल्पाका पर्यटकको आगमनमा वृद्धि भई स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार हुने जनाउनु भयो । उहाँले भन्नुभयो ‘यो महोत्सवले पर्यटनको धरोहर भनेर डोल्पालाई चिनाउने छ ।’ उहाँका अनुसार ‘डोल्पो महोत्सव’ ले समग्र देशको राजस्व वृद्धिमा टेवा पुग्ने र होटल तथा होमस्टे संचालन गर्न प्रोत्साहन मिल्ने छ ।
प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार १७:३६