भक्तपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाका रुपमा अगाडि बढेको बताउनुभएको छ ।
आज हनुमन्ते सफाइ अभियानको ७५औँ हप्ताका अवसरमा हरियाली भक्तपुर बनाउने उद्देश्यले सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको वृक्षरोपण एवं हरियाली कार्यक्रममा उहाँले कुनै पनि देश सरकारको प्रयासबाट विकास हुन नसक्ने बताउँदै विकासलाई पूर्णता दिन र समृद्ध देश बनाउन सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताले सोचेको कुरा, राजनीतिक दलले बोलेको कुरा र जनताको अपेक्षा अनुसारको विकास गर्न सबै मिलेर जानुपर्छ ।” देशको राजनीतिक परिवर्तनसँगै युगपरिवर्तन भएको चर्चा गर्दै उहाँले देश र जनताका धेरै आकांक्षा तथा आवश्यकता रहेका तर समय छोटो रहेकाले विकासमा आमदेशवासीको सहभागिता अनिवार्य रहेको औंल्याउनुभयो ।
भक्तपुरको विकासले अन्य जिल्लालाई पनि प्रेरित गरिरहेको बताउँदै मन्त्री बस्नेतले सांसद महेश बस्नेतको नेतृत्वले सिङ्गो विकास अगाडि बढेको बताउनुभयो । भक्तपुरलाई पर्यटकीय केन्द्र बनाउन र निर्माणाधीन प्राणी उद्यानलाई पूर्णता दिन सरकार अग्रसर रहेको उहाँले भनाइ राख्नुभयो ।
सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट शुरु भएको बताउनुभयो । उहाँले अरनिको राजमार्ग खण्डको मनोहरादेखि सूर्यविनायकसम्मको छ लेन सडककोबीच भागमा बिरुवा रोप्ने र दूबो लगाएर हरियाली बनाउने अभियान शुरु भएको बताउनुभयो ।
हनुमन्ते सफाइ अभियानले मानिसको मन पनि सफा गरेको टिप्पणी गर्दै उहाँले अभियानको विरोध गर्ने हुनमन्तेमा एक दिन कलकल सफा पानी बगेको देखेपछि निहुरिएर हिँड्नुपर्ने दिन आउने चर्चा गर्नुभयो । प्रदेश नं–३ का प्रदेश सभा सदस्य रजनी जोशीले विकासमा राजनीति गर्नु नहुने औल्याउँदै सबैको सहयोग र एक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाइ र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूनाको अभियान भएको बताउँदै यसबाट अन्य जिल्लालाई पनि प्रेरणा मिलेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेललगायतले सफाइ अभियानलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । रासस
प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार १५:४०