सुर्खेत । चौकुने गाउँपालिकामा रहेको चौकुने सिमेन्ट उद्योगको काम तिव्र गतिमा हुने भएको छ । आउँदो वर्ष २०७७ साल भदौमा चौकुने सिमेन्ट उद्योगको उद्घाटन गरी उत्पादनको कार्य सुरु गर्ने मुक्ति श्री ग्रुप अफ प्रा.लि.का प्रमुख तथा उद्योगपती अजयराज सुमार्गीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बिहीबार वीरेन्द्रनगरमा उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रा.लि.का प्रमुख सुमार्गीले सो कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
सुमार्गीले चौकुने सिमेन्ट उद्योग सञ्चालनका लागि अहिले दुई अर्बको लागतमा कामको सुरुवात गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘चौकुने सिमेन्ट उद्योगको लागि ६ अर्वको माग गरेको छु, तर अहिले मेरो हातमा जम्मा २ अर्वको लाइसेन्स छ र म यसबाट नै सुरुवात गर्छु ।’ उहाँले चौकुने सिमेन्ट उद्योगका लागि धेरै सम्भाव्यताको अध्ययन गरेर उद्योग सञ्चालन गर्न लागिएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘चौकुने सिमेन्ट उद्योगका लागि मैले २०६४ देखि २०६८ सम्म धेरै अध्ययन गरे, यहाँ धेरै कुराहरुको सम्भावना पनि देखे र यस ठाउँका लागि मैले धेरै योजनाहरु बनाएको छु ।’ सुमार्गीले चौकुने सिमेन्ट उद्योगमा उत्पादन हुने सिमेन्ट काठमाडौँमा मात्रै नभएर भारत लखनउमा बेचिने बताउनु भयो । उहाँले भन्नु भयो, ‘यहाँ उत्पादन भएको सिमेन्ट भारत र लखनउमा बेचिन्छ ।’ उहाँले सिमेन्ट उद्योगमा ७ सय जनाले रोजगार पाउने र प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने जानकारी दिनु भयो ।
सुमार्गीले भन्नु भयो, ‘त्यहाँका जग्गादातालाई उद्योगमा ५० हजार बराबरको शेयर दिनेछु, कामदारलाई पनि सोही बराबरको शेयर दिनेछु,’ जनतालाई पनि लगानीकर्ताको रूपमा स्थापित गर्ने आफ्नो योजना रहेको उहाँले बताउनु भयो ।
सुमार्गीले सुर्खेतका व्यवसायीलाई पाँच लाख घार माहुरी पाल्ने योजनाका साथ अघि बढन आग्रह गर्नु भयो । ‘पाँच लाख घार माहुरी पाल्ने गरी योजना बनाउनुस् । एक लाख परिवारलाई बाख्रा पाल्न लगाउनुहोस,’ उहाँले भन्नु भयो, ‘पैसा नभएकालाई बैंकभन्दा आधा कम व्याजदरमा पैसा दिन्छु, इन्श्योरेन्स गरिदिन्छु र किनिपनि दिन्छु ।’
सुमार्गीले कर्णालीमा जडिबुटीको सम्भावना भएको बताउँदै दुई अर्ब रुपैंयाँ यो क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनु भयो । ‘जडिबुटीको बिउ दिन्छु, मल दिन्छु र प्रशोधन पनि गर्छु अनि जनताबाट खरिद गर्दै बिक्री पनि गर्छु,’ उहाँले भन्नु भयो, ‘यसका लागि पनि व्यवसायी साथीहरू तयार हुनुस, दुई अर्ब लगानी गर्न म तयार छु ।’
प्रकाशित मिति: ५ असार २०७६, बिहीबार २०:०९