सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी मन्त्री ज्वालाले सो कुराको बताउनु भएको हो ।
पूर्वाधारतर्फ सडक, सिँचाई, खानेपानी बस्ती विकासलाई विशेष जोड दिइएको उहाँले जनाउनु भएको छ । सडक लगायत पूर्वाधार विकासका लागि पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गरिने मन्त्री ज्वालाले जानकारी दिनु भयो । उहाँका अनुसार मुख्यमन्त्री पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्व बजेट विनियोजन गरिएको छ ।
मन्त्री ज्वालाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत महिला तथा दलित रोजगार कार्यक्रमका लागि २ करोड विनियोजन गरेको जानकारी दिनु भयो । बालबिवाह न्यूनिकरण अन्तर्गत बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमका लागि ७ करोड विनियोजन गरेका छौ, उहाँले भन्नु भयो, ‘जसले गर्दा छोरीको बिवाहको कारणले उनिहरुलाई विद्यालय छोड्न नपरोस ।’ उहाँका अनुसार कर्णाली उज्यालो कार्यक्रमका लागि ३५ करोड ५९ लाख विनियोजन गरिएको छ । सामाजिक सुरक्षा अन्तर्गत खाना–नाना–छाना कार्यक्रमको लागि ४ करोड, एक जिल्ला, एक एकीकृत नमुना बस्ती समेत विकास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरका छाना विस्थापन, टिनका छाना स्थापनका लागि २५ करोड ५० लाख बजेट विनियोजित गरिएको छ ।
मन्त्री ज्वालाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत दुर्गम क्षेत्रका नागरिकलाई हवाई टिकटमा सहुलियत कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको बताउनु भयो । पर्यटन उद्यमशिलता अन्तर्गत होम स्टेका लागि ६ करोड, प्रदेश पहिचान गरेका १०१ गन्तव्यको पूर्वाधार विकासका लागि २५ करोड, पर्यटन पदमार्ग निर्माण र विकासका लागि ११ करोड ४० लाख, पर्यटन सम्बन्धि पूर्वाधार निर्माण र विकासका लागि ४२ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ ।
कृषि, भुमि व्यवस्था, सहकारी मन्त्रालय मार्फत साना सिँचाई बिस्तारका लागि ५० करोड, कृषि सडक निर्माणका लागि ३२ करोड, दलित अति विपन्न लक्षित विशेष कार्यक्रमका लागि १७ करोड, प्राङगारिकमिसन कार्यक्रमका लागि १३ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । उहाँका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत डिजिटल स्कुल कार्यक्रमका लागि २ करोड, प्रहरी भवन निर्माणका लागि ३० करोड, डाटा सेन्टर निर्माणका लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जनता सडक कार्यक्रमका लागि ४८ करोड, नदी नियन्त्रण तटबन्धका लागि ३८ करोड, उज्यालो कर्णाली अन्तर्गत विद्युत पहुँच नपुगेका स्थानहरुको लागि ग्रामीण विद्युतिकरण समेतका लागि २५ करोड, प्रदेश राजधानी जोड्ने पुलका लागि २१ करोड, एक निर्वाचन एक क्षेत्र सडकका लागि २४ करोड बजेट विनियोजन गरेको मन्त्री ज्वालाले जानकारी दिनु भयो ।
मन्त्री ज्वालाले सामाजिक पूर्वाधारतर्फ खेल पूर्वाधारका लागि ५ करोड, प्रदेश अस्पताल संरचनाका लागि ६ करोड, प्रदेश रंगशाला सुर्खेतका लागि २ करोड ५० लाख बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँका अनुसार शिक्षा तथा विद्यालय पूर्वाधार निर्माणतर्फ आवासिय विद्यालय र नमुना विद्यालय विकासको लागि समेत विद्यालय भौतिक पूर्वाधार निर्माणमा १ अर्ब २४ करोड २५ लाख, बहुप्राविधिक शिक्षालय स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरिएको छभने स्वास्थ्यतर्फ अपाङ्ग बालबालिकाहरुका लागि निशुल्क पुनःस्थापना केन्द्र संचालन गरिने, स्थानीय तहको समन्वयमा बर्थिङ्ग सेन्टरलाई व्यवस्थित र साधन स्रोत सम्पन्न बनाइने भएको छ ।
यस्तै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सबै समुदायका लागि रोजगार उन्मुख तालिमका लागि ९ करोड ५० लाख, महिला स्वास्थ्य स्वयम सेविका उत्प्रेरणा कार्यक्रम अन्तर्गत प्रत्येक मासिकालाई वार्षिक रु १० हजार उपलब्ध गराउनका लागि ४ करोड ३२ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताउनु भएको छ ।
प्रकाशित मिति: ४ असार २०७६, बुधबार २०:२९