सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गरेका छन् । आइतवार वीरेन्द्रगरमा भएको सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले साे कुरा बताएका हुन् ।
मुख्यमन्त्री शाहीले मुलुकमा कानुनी शासन रहेको बताउँदै सरकारमा वस्नेहरुले भ्रष्ट्राचार गरेको पाईएमा कानुन वमोजिम दण्ड हुने बताए । उनले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट गरे ।
संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिंदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने दावी गरे । संघीयता विरोधी समुहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गरे ।
संभावनै संभावनाहरुको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तिय संस्थाहरुको महत्वपूर्ण भुमिका हुने बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा वैंकहरुले लगानी गर्नुपर्ने बताए । उनले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी वढाउन आग्रह गरे । मुख्यमन्त्री शाहीले वैंकहरु नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि वैंकहरुले ख्याल गर्नुपर्ने बताए ।
व्यवसायीको लगानी डुव्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण वनाउन प्रदेश सरकार तयार रहेको बताए ।
सिभिल वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद ठम्मर विष्ट, पदमवहादुर रोकाय र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीले वैंकको सफलताको शुभकामना दिएका थिए ।
प्रकाशित मिति: १ असार २०७६, आईतवार १२:२७