काठमाडौँ । नारायणहिटी दरबारमा निर्माण भएको गणतन्त्र स्मारकमा संविधानको आकृति अङ्कित गरिएको मूर्ति कुँद्ने काम अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
मूर्ति अङ्कित गर्ने काम जेठ १५ गते अघि नै सकिने विभागका उपमहानिर्देशक द्वारिका श्रेष्ठले बताए । गणतन्त्र स्मारक गत वर्ष जेठ पहिलो सातामै
निर्माण सम्पन्न भएको थियो । स्मारकमा बन्ने सङ्ग्रहालयको आन्तरिक सजावट नसकिएकाले त्यसबेला उद्घाटन हुन सकेको थिएन ।
यसपटक दुई सङ्ग्रहालयमध्ये एउटामा सामग्री सङ्कलन गरी सक्ने तयारी भएको छ । गणतन्त्र प्राप्तिका क्रमका महत्वपूर्ण तस्वीर, दस्तावेजलगायत सामग्री छनोट गर्ने जिम्मेवारी नेपाल कला परिषद्लाई दिइएको थियो । सामग्री सङ्कलन, संविधानको आकृति अङ्कित गरिएको मूर्ति कुँद्ने प्रयोजनका लागि यस वर्ष
रु दुई करोड बजेट विनियोजन भएको थियो ।
विभागले नारायणहिटी दरबार सङ्ग्रहालयको ३५ रोपनी क्षेत्रफलमा रु ४२ करोडको लागतमा गत वर्ष स्मारक निर्माण गरेको हो । मन्त्रिपरिषद् बैठकले
स्मारकमा बगैँचा सहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । शहीदको भावना सम्झने स्थलका रुपमा स्मारक निर्माण गरिएको विभागका वरिष्ठ डिभीजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए ।
स्मारकमा अङ्गभङ्ग भएका, वेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका गरी चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । “जन आन्दोलनका शहीद सम्बन्धी चीजबीज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ”–वरिष्ठ डिभीजनल इञ्जिनीयर महर्जनले भने ।
स्मारकमा ‘शहीदको रगत खेर जानेछैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्य रहनेछ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालय लगायत संरचना समेत निर्माण भएको छ । यसअघि नारायणहिटी दरबार क्षेत्रमा २.१ मात्र चौडाइ रहेको इच्छुमती (टुकुचा) लाई स्मारक निर्माणका क्रममा ४.२ चौडाइमा बिस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने विश्वास गरिएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले खेलेको भूमिकाका विभिन्न तस्बिर र
कलाकृति लगायतका सामग्री राखिनेछन् । ती सामग्री छनोट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा रहेको परिषद् समूहले गर्ने जनाइएको छ ।
स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण
निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भुभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।
“किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतीकात्मक अर्थ दिनेछ”–उनले भने । विसं ०६८ चैत
१४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र
नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जनाएको छ ।
बनेन कार्यविधि
स्मारकमा प्रवेश गर्नका लागि शुल्क नलाग्ने गरी कार्यविधि निर्माण भइरहेको विभागका महानिर्देशक मणिराम गेलालले सुनाए । कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन हुनेछ । नारायणहिटी दरबार सङ्ग्रहालय भ्रमणका लागि भने तोकिए अनुसार टिकट काट्नुपर्नेछ । यहाँ आएका आगन्तुकलाई स्मारकमा सोही टिकटले अवलोकन गर्न दिइनेछ ।
भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकसमक्ष नेपालमा लोकतन्त्र प्राप्तिको चित्र र सङ्घर्षलाई भावनात्मक रुपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ । एकैपटकमा सयजना बढीले स्मारक भ्रमण गर्न सक्नेछन् । स्मारक निर्माणमा भारत र चीनका प्राविधिक संलग्न भएका थिए । रु ३५ करोडमा सम्झौता भएपनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोइ÷स्काइ÷बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए । विभागले गत वर्ष नै मस्यौदा गरेको कार्यविधि अझै पारित नहुँदा स्मारक सञ्चालन सम्बन्धी अन्योलता छ ।
स्मारक यस वर्ष गणतन्त्र दिवसका दिन जेठ १५ गते नै उद्घाटन गर्न सक्नेगरी तयारी भएको विभागले जनाएको छ । त्यसदिन उद्घाटन गर्ने नगर्ने अझै निश्चित नभएको जनाइएको छ । कार्यविधि जेठ १५ गते अघि नै पारित गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयारी भएको महानिर्देशक गेलालले
बताए ।
जेठ १५ गते स्मारक उद्घाटन भए कार्यविधि पारित नभएसम्म विभागले चलाउने उनले जानकारी दिए । कार्यविधिमा स्मारक सञ्चालनको जिम्मेवारी
नारायणहिटी दरबार सङ्ग्रहालयलाई दिने व्यवस्था रहेको जनाइएको छ । रासस
प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार ०७:५०