सुर्खेत । कर्णाली प्रदेशको राजधानीका उद्योगहरुमा ऊर्जा खपत कम गराउने कार्यक्रम लागू भएको छ । नेपाल उद्योग बाणिज्य महासंघको ऊर्जा दक्षता कार्यक्रममार्फत यहाँका ऊर्जा बढी खपत हुने उद्योगहरुमा सो कार्यक्रम लागू भएको हो ।
शुक्रवार सुर्खेतका कर्णाली प्रदेशका विभिन्न उद्योगीहरुलाई ऊर्जा खपत कम गराउने सो कार्यक्रवारे अभिमुखीकरणसमेत दिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका ऊर्जा तथा वातावरण विभाग प्रमुख उत्तम कुँवरले विगतमा दुई चरणमा सो कार्यक्रम लागू भइ उद्योगहरुले प्रत्यक्ष फाइदा लिइरहेको जानकारी दिदैं अव कर्णाली प्रदेशमा पनि सो कार्यक्रम तेस्रो चरणमा लागू भएको बताए । उनले ऊर्जा बढी खपत हुने उद्योगहरु लक्षित सो कार्यक्रम उद्योग बाणिज्य महासंघले ल्याएको उल्लेख गरे ।
ऊर्जा दक्षता कार्यक्रमबाट १५ प्रतिशतसम्म विद्युत ऊर्जा बचाउन सकिने, ३० प्रतिशतसम्म ताप ऊर्जा बचाउन सकिने प्रमुख कुँवरले दावी गरे । नेपालमा सन २०१० देखि लागू भएको सो कार्यक्रमले पूर्वी नेपालका ठूला उद्योगहरु सहभागी भइ ऊर्जा खपत कम गरी आर्थिक बचतसमेत गरेको दावी गर्दै उनले कर्णाली प्रदेशमा पनि ऊर्जा खपत बढी हुने उद्योगहरु भएकोले लागू गरी कम गराउने लक्ष्य रहेको बताए ।
महासंघको ऊर्जा तथा वातावरण विभागका प्राविधिक मिलभ श्रेष्ठले दुई चरणको अवधिमा ४०० उद्योगहरुको ऊर्जा खपतको खाका तयार पारेको, ५८ उद्योगहरुमा कार्यक्रम लागू गरी चार अर्ब ७१ करोड ३० लाख रुपैयाँ बचाएको दावी गरे । ऊर्जा बढी खपत हुने डेरी उद्योग, बेभरेज, मासु उद्योग, मेटल उद्योग, सिमेन्ट, इटा, चिनी उद्योगहरुका लागि यो कार्यक्रम बढी लाभान्वित हुने जानकारी उनले दिए ।
यसैगरी मोटर, पंखा, एसी, फ्रिज, बल्व, बोइलर, जेनेरेटर बढी चलाउने उद्योगहरुलाई पनि यो कार्यक्रमले समेट्नेछ । जतिसक्यो ऊर्जा खपत कम गराउन सक्नु नै यो कार्यक्रमको सफलता भएको उनले बताए । एक बर्षको अवधिमा कर्णालीका १० वटा बढी ऊर्जा खपत हुने उद्योगहरुमा यो कार्यक्रम लागू गराउने लक्ष्य राखिएको प्राविधिक श्रेष्ठले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघले ऊर्जा दक्षता कार्यक्रमका लागि सुर्खेतमा प्रदेश स्तरीय कार्यालयसमेत स्थापना गरेको छ । महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही र महासंघका ऊर्जा तथा वातावरण विभाग प्रमुख उत्तम कुँवरवीच शुक्रवार कार्यालय स्थापना गर्ने द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । महासंघको प्रदेश कार्यालयबाट अव ऊर्जा दक्षता कार्यक्रम लागू हुनेछ ।
दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष कविराज खत्रीले कार्यक्रमले बढी ऊर्जा खपत गर्ने उद्योगहरु लाभान्वित हुने बताए । परम्परागत ऊर्जा खपतबाट खर्च बढी भएकोले अव ऊर्जा दक्षता कार्यक्रमबाट पैसाका साथै अन्य लाभ लिन पनि उनले सुझाव दिएका छन् ।
प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार ११:५०