दैलेख, रानीमत्ता । दैलेख गुराँस गाउँपालिकाका युवाहरु सञ्चार क्षेत्रमा आकर्षित हुन थालेका छन् ।
बढ्दो सूचनाको युगसँगै युवाहरुको सञ्चार क्षेत्रमा आकर्षित हुन थालेका हुन् । गुराँस गाउँपालिकासँगको समन्वयमा गुराँस आवाज साप्ताहिक पत्रिकाले आयोजना गरेको तिनदिने आधारभुत उद्घोषण तथा पत्रकारिता तालिममा सहभागि भएका गुराँसका युवाहरुले आफुहरु सञ्चार क्षेत्रसँग जनतालाई जोड्न चाहेको बताएका छन् । उनीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न आफुहरु तयार रहेको भन्दै अब सरकार र जनताको बिचमा बसेर पुलको काम गर्ने बताएका हुन् ।
कार्यक्रम गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले सञ्चार क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए । उनले सञ्चार माध्यम मार्फत समाजलाई सहि बाटो लिन सकिने भएकाले तालिम सिकेर त्यसलाई जीवनमा लागु गर्न सक्नुपर्ने बताए ।
तालिमका प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले समाजको ऐनाको रुपमा सञ्चार क्षेत्र रहेको भन्दै कुना कन्धरासम्म पहुँच पुग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कमल पन्त, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसी, प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ सुर्खेतका पुर्व अध्यक्ष मोती पौडेल लगायतले पत्रकारिता क्षेत्रको अनुभव सुनाएका थिए ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका वडा नम्बर २ की जानकी पुन मगरले सञ्चार क्षेत्र मार्फत समाजलाई गतिशिल बनाउन चाहेको बताइन् ।
कार्यक्रमको सहजीकरण गुराँस आवाज साप्ताहिक पत्रिकाका सम्पादक टेकराज केसीले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाबाट १६ जना सहभागि भएका छन् ।
प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार ०८:५८