काठमाडौँ । राष्ट्रि«यसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमनराज प्याकुरेलले मर्यादाक्रम कानूनमै व्यवस्था गरिनुपर्ने र बेलाबेलामा परिवर्तन गर्न नहुने बताए । राजधानीमा पेट्रोलियम पदार्थको खपत कम गराउन विद्युतीय सवारी साधन चलाएर वातावरणमैत्री बनाइनुपर्ने उनको भनाइ थियो ।
सांसद जीतेन्द्रनारायण देवले मङ्गलबारको सभाको बैठकमा प्रधानमन्त्रीबाट संविधानको धारा ५६ र ५७ प्रतिकूल हुने गरी एकात्मक राज्य सत्तामुखी भई
संघअन्तर्गत प्रदेश सरकार भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको अभिव्यक्ति संवैधानिक सर्वोच्चताको विपरीत रहेको उनको भनाइ थियो । देशलाई राजनीतिक मुठभेडतर्फ नलैजान पनि सांसद देवले अनुरोध गरे । सांसद नन्द चपाईले बजेटमा समानुपातिक तर्फबाट निर्वाचित सांसदका मुद्दा समावेश हुनुपर्ने बताए । बजेटमा महिला, दलित र उत्पीडितको मुद्दा समेट्न पनि उनले माग गरे ।
सांसद हरिचरण शिवाकोटीले जनताको आधारभूत आवश्यकता सरकारले पूरा गरेकाले प्रमुख प्रतिपक्षले राम्रोलाई राम्रो भन्नुपर्ने बताए । सांसद रमेशप्रसाद यादवले प्रधानमन्त्रीको अभिव्यक्तिले संघीयता खतरामा परेकोले सचेत हुन आग्रह गरे । बारामा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा जङ्गल फँडानी भइरहेकामा रोक्न पनि उनले माग गरे । पानीको मुहान सुक्दै गएकाले बेलैमा सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो । किसानले उखु खेतीको भुक्तानी नपाएको र चुरे संरक्षण नारामा मात्र सीमित भएकाले सुधार गरिनुपर्ने माग सांसद यादवको थियो ।
सांसद रामप्रीत पासवानले मौलिक हकलाई संविधानमा राखे पनि पूरा हुन नसकेकाले दलित, मधेश, महिला, आदिवासी जनजातिलगायत पिछडिएका समुदायलाई आगामी बजेटले समेट्नुपर्ने बताए । सांसद कमलाकुमारी वलीले उद्योग चलाउने व्यक्तिका लागि सरकारले के कस्ता सुविधा दिन्छ भन्ने प्रस्ट रुपमा बजेटमा व्यवस्था गर्न माग गरे ।
सांसद जीवन बुढाले कर्मचारी समायोजन भइसके पनि कालीकोटमा कर्मचारी नपुगेको बताए । केही कर्मचारीलाई पक्षपात गरिएकाले दुर्गममा पठाउने
मापदण्ड के हो भनी उनले प्रश्न गरे । सांसद युटोल तामाङले नेपालको गुम्बा शिक्षालाई सरकारले दायरामा ल्याउन नसकेको बताए । गुम्बा शिक्षाबारे नीति
तथा कार्यक्रमसहित बजेटमा व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । हिमाली जिल्लामा पाइने यार्सागुम्बाको संरक्षण गर्न पनि सांसद तामाङले ध्यानाकर्षण
गरे ।
सांसद रामलखन चमारले नवलपरासीका विभिन्न स्थानमा वन अतिक्रमण भएको बारे अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद प्रकाश पन्थले
संवैधानिक निकायलाई मर्यादामा राख्नुपर्ने र स्वतन्त्र न्यायपालिका प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्ने बताए । अनियमितालाई लिएर प्रतिपक्ष र प्रेसले आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनले बताए ।
सांसद रामनारायण विडारीले नागरिकतासम्बन्धी विवाद सधैँका लागि समाप्त हुने गरी काम गर्नुपर्नेमा जोड एि । सार्वजनिक जग्गा व्यक्तिका नाममा लैजाने
सरकार, प्रधानमन्त्री, विभागीय मन्त्री सबैको सूची खोजी गरी संसद्मा पेश गरिनुपर्ने उनले बताए । सांसद शेरबहादुर कँवरले गत चैत महिनामा
अछामका विभिन्न स्थानमा असिनापानीलगायत प्राकृतिक प्रकोपले नोक्सानी भई बाली नष्ट भएकाले राहत उपलब्ध गराउन माग गरे ।
प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार २१:३१