काठमाडौँ । बारा र पर्सा जिल्लामा चैत १७ गते गएको विनासकारी हावाहुरी र असिनाबाट घरबारविहीन भएकाहरूको घर निर्माणको जिम्मा पाएका नेपाली सेनाले वैशाख २६ गतेदेखि निर्माण कार्य सुरु गर्ने भएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बारा र पर्सा जिल्लामा हावाहुरीबाट घरबारविहीन भएकाहरूको घर निर्माणका लागि नेपाली सेनाको टोली शनिबार बारा र पर्साका लागि काठमाडौँबाट प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार सेनाले आवश्यक सामग्रीको बन्दोबस्त गरी वैशाख २६ गतेबाट निर्माण कार्य सुरु गर्नेछ । असारको दोस्रो साताभित्र सम्पूर्ण घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी समेत उनले दिए ।
सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई घर निर्माण गर्न नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपियाँ बजेट दिने दिने निर्णय गरेसँगै सेनाले निर्माण कार्यलाई अगाडि बढाएको हो । बारा जिल्लामा एकहजार ३६२ र पर्सा जिल्लामा ९१ वटा गरी घर निर्माण गरिने नेपाली सेनाले जनाएको छ । हावाहुरीपीडितका घर जनता आवास कार्यक्रम अन्तर्गतकै मोडलमा निर्माण गरिने जनाइएको छ ।
बारामा नौ र पर्सामा तीन गरी जम्मा १२ वटा समूहमा निर्माण कार्यलाई अगाडि बढाइने बताउँदै उनले वैशाख २६ गते १२ वटा ठाउँमा एकै पटक शिलान्यास कार्यक्रम गरी निर्माण कार्यको शुभारम्भ गरिने जानकारी दिए । घर निर्माणका लागि नेपाली सेना र अन्य जनशक्ति गरी एकै पटक छ हजार जनशक्ति परिचालन हुने जानकारी समेत उनले दिए ।
यसअघि नेपाली सेनाले एउटा घरपरिवारका लागि आवश्यक पर्ने न्यूनतम मापदण्ड समेटेर सरकार समक्ष दुईवटा प्रस्ताव पेस गरेको थियो । पहिलो प्रस्तावमा करिब छ लाख रुपियाँको लागतमा तयार हुनेगरी दुई वटा कोठा, एउटा भान्साघर र एउटा शौचालयसहितको घर निर्माण गर्ने र दोस्रोमा दुई वटा कोठा, एउटा शौचालय र बरण्डामा भान्सा घर निर्माण हुने गरी प्रस्ताव गरिएको थियो ।
हावाहुरी पीडितका लागि बारा र पर्सामा घर निर्माणका लागि प्रदेश २ सरकारका प्रमुख सचिवको नेतृत्वमा पुनःस्थापना तथा घर निर्माण सहजीकरण तथा समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यमा बारा र पर्साका प्रमुुख जिल्ला अधिकारी, सहरी विकास मनत्रालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधि रहेका छन् ।
प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार ०७:१४