गोरखा । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले भुकम्पपछिको पुनःनिर्माणमा तिव्रता दिनु जरुरी रहेको बताएका छन् ।
चौथो भुकम्प स्मृति दिवसको अबसरमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा बिहीबार बारपाकमा आयोजित कार्यक्रममा बोल्दै सभामुख
महराले यस्तो बताएका हुन् । उनले अहिले भईरहेको पुनःनिर्माण सन्तोषजनक भएपनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको बताए ।
भुकम्प गएको ४ बर्ष पुरा भएको छ, सभामुख महराले भने, ‘सरकारले ५ बर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाले त्यसलाई पुरा गर्न प्राधिकरणले गतिलाई बढाउनु आबश्यक छ ।’ उनले देश सधै पुनःनिर्माणको काममा अल्झेर बस्न नसक्ने भन्दै अब पुनःनिर्माण सकेर देशलाई आर्थिक सम्बृद्धिको दिशमा अघि बढाउनु पर्नेमा जोडदिए ।
भुकम्पपछिको पुनःनिर्माणमा जुन समुदाय जहाँ छ त्यहि समुदायको पहिचान र संस्कृति मौलिकतालाई लाई भुल्न नहुनेमा उनले जोडदिए । ‘परम्परागत संस्कृति र पहिचान बोकेका हाम्रा मठमन्दिर, बौद्ध, गुम्बा, स्तुपाहरुलाई पुरानै पहिचान झल्कने गरीे पुनःनिर्माण गर्नु आबश्यक छ’, उनले भने, ‘पुनःनिर्माणका बाहानामा हामीले हाम्रो संस्कृति र परम्परालाई पनि भुल्नु हुदैन ।’ उनले बारपाकको पहिचान भुकम्पपछि मात्र नभएर भुकम्प अघि पनि छुट्टै पहिचान बोकेको भन्दै त्यसको जगर्ने गर्नु आबश्यक रहेको बताए ।
सभामुख महराले आगामी बर्षको बजेटमा सरकारले पुनःनिर्माणका लागि मन खोलेर अघि बढ्न सक्नुपर्नेमा जोड दिए । उनले भने, सरकारले पुनःनिर्माणका लागि आउदो बर्षका लागि मुठ्ठी खोलेर बजेट बिनियोजन गर्नु आबश्यक छ, त्यहि गतिमा प्राधिकरणले पनि काम गर्नसक्नु पर्छ ।’
उनले भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक पुनःनिर्माणमा प्रभावित जिल्ला मध्ये अग्रस्थानमा रहेको जानकारी पाएको भन्दै बारपाकले अब आयातित
कुरालाई नभई यहाँको पहिचानलाई बेच्न सक्नु पर्नेमा जोड दिए ।
‘हामीले आर्थिक सम्बृद्धिमा सफलता हासिल गर्न नसक्नुमा निर्यात भन्दा आयात धेरै भएकाले नै हो’, सभामुख महराले भने, देशमा ८० प्रतिसत आयात र २० प्रतिसत निर्यातको अबस्थाले आर्थिक परिवर्तन सम्भब हुदैन ।’
सभामुख महराले गोरखाको १२ किलो देखि बारपाकसम्मको सडक खण्ड कालोपत्रे गर्ने काममा ढिलाई भइरहेको गुनासो आएको भन्दै तिव्रताका लागि सरकारको ध्यानकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरे । २०७२ साल बैशाख १२ गतेका दिन बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भुकम्पका बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार २०:०४