सुर्खेत । शिक्षा मन्त्रालयले आकर्षक नारा तय गरि विद्यालय भर्ना अभियान सुरु गरेपनि कर्णाली प्रदेशका कतिपय गाउँ वस्तीमा विद्यालय भर्ना अभियानले छोएको छैन ।
सरकारले हाम्रो नगर, हाम्रो गाउँ, सवै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा सहित विद्यालय भर्ना अभियान थाले पनि सुर्खेतका १७ वर्षिया प्रकाश रोकायलाई विद्यार्थी भर्ना अभियानले कुनै प्रभाव पार्न सकेको छैन । उनी घरको आर्थिक अभावले पढ्ने उमेरमा ज्यालादारी काम गर्न हिड्ने गरेका छन् । उनलाई सवै विद्यालय गएको देख्दा रहर लागेपनि विद्यालयबाट बन्चित हुन परेको छ ।
२०७१ साल आएको बाढीले घरबार बगाएपछि कलम कापी समाउने हातले बेल्चा समात्न प्रकाशलाई बाध्यता छ । उनी भन्छन्, ‘पढ्न मन त छ तर घरको कमजोर आर्थिक अवस्थाले गर्दा काम गर्नुपर्ने बाध्यता छ ।’ उनी थप्छन्, ‘सरकारले हामी जस्ता बालबालिकालाई पढ्ने व्यवस्था गरिदिएको भए हामी पनि पढ्न पाउने थियौं ।’
प्रकाश जस्तै २०७१ सालका बाढीपीडितहरुका बालबालिकालाई सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानको महसुस गर्न पाएका छैनन् । वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा पाँच वर्षदेखि त्रिपालमुनि बसेका पीडितहरुका झुपडिमा विद्यालय भर्ना अभियान पुगेको छैन । महिला प्रशिक्षण केन्द्रमा १७ घर परिवारका ५१ जना बालबालिका त्रिपालमुनि वसेका छन् ।।
बाढीपीडीत नरबहादुर रोकायले आफ्ना छोराछोरीलाई जसोतसो जेनतेन गरेर खजुरा विद्यालयमा पढाईरहेको बताउँछन । उनी आफु अपाङ्ग भएका कारण अलि अलि आएको सहयोगले छोराछोरी पढाउने गरेको बताउँछन् । बाढीपीडित बस्तीमा विद्यालय भर्ना अभियानका बारेमा केही थाहा नपाएको उनले बताए ।
कमला परियारले घरको व्यवस्थापन गर्न नसकिरहेका बेला छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘विद्यालय भर्ना अभिायनबारे केही थाहा छैन, हामीलाई यस्ता कुरा कस्ले भन्छ र ? बरु साझँ विहानको खाना कसरी जुटाउने भन्ने चिन्ता हुन्छ ।’
वीरेन्द्रनगरको झुप्रा खोलामा वसोवास गरेका बादी समुदायका बालबालिकालाई पनि सरकारको भर्ना अभियानले छुन सकेन । सरकारले दलित समुदायलाई निशुल्क शिक्षा भने पनि व्यवहारमा लागु नभएका कारण आफ्ना बालबालिकाले पढाई छोड्न परेको वादी समुदायका अभिभावकले बताएका छन् ।
झुप्राखोलाकी गिता बादीले बादी बस्तीका बालबालिकाहरुलाई निःशुल्क रुपमा पढाउने भन्ने हल्ला मात्रै सुन्ने गरेको र पढाउन कोही नआउने गरेको दुखेसो गरिन् । उनले भनिन्, ‘यहाँ भर्ना अभियान आएको भए अहिलेसम्म हाम्रो बच्चाहरु स्कुलमा भर्ना गरिसकेका हुन्थ्यौँ ।’
झुप्रा खोलामा एक सय १९ घरपरिवारमा विद्यालय उमेर समुहका झण्डै ५ सय बालबालिका छन्भने विद्यालयमा ७५ जना बालबालिका भर्ना हुने गरेका छन् । सरकारले आकर्षक नारासहित तामझाम गरि भर्ना अभियान गरेर ठुलो प्रतिशतमा विद्यालय उमेर समुहका बालबालिका भर्ना भएको तथ्याङ्क देखाइन्छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले पनि तीन प्रतिशत बालबालिकालाई यो शैक्षिक सत्रमा विद्यालय भर्ना गर्न सके शतप्रतिशत हुने बताएको छ ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले कर्णाली प्रदेशमा ९७ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याइएको तथ्याङ्क भएपनि शैक्षिक जनगणना नगरिएका कारण एकिन तथ्याङ्क आउन नसकेको बताए । उनका अनुसार नयाँ शैक्षिक सत्रमा विद्यालयले गरेको भर्ना दरका आधारमा प्रतिशत निकाल्ने गरिन्छ । जसले गर्दा समुदायका विद्यालयमा उमेर समुहका कति बालबालिका छनभन्ने एकिन हुन सकेको छैन । उनले छुटेका बस्तीमा गएर विद्यालयमा उपस्थित गराउनका लागि स्थानीय तहहरुले प्रचार प्रसारसंगै घरदैलो कार्यक्रम गरी बालबालिकालाई नछुटाएर विद्यालयमा उपस्थित गराउन जरुरी रहेको बताए ।
प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार ०७:०७