सुर्खेत । कर्णाली प्रदेशमा आन्तरिकमा सुर्खेत र बाहृयमा हुम्लामा सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलन गरी आन्तरिक पर्यटकमा सुर्खेतमा एक लाख ६२ हजार ८६१ जना र बाह्य पर्यटक हुम्लामा १७ हजार ४८९ जना भित्रिएको जानकारी गराएकोे हो ।
मन्त्री नन्द सिंह बुढाले कर्णालीमा आन्तरिकतर्फ ११ प्रतिशत र बाहृय तर्फ ३४ प्रतिशत पर्यटकहरु बढेको बताए । रारा कर्णाली पर्यटन बर्षको एक बर्षको अवधिमा चार लाख ५४ हजार ६४ जना आन्तरिक पर्यटक र २१ हजार २९१ जना बाह्य पर्यटक आएको उनले जानकारी दिए ।
आन्तरिक पर्यटक आउनेमा सुर्खेतमा एक लाख ६२ हजार ८६१ जना, जुम्लामा ७७ हजार ६१४ जना, जाजरकोटमा ५ हजार ६५ जना, दैलेखमा ३ हजार ६६८ जना, सल्यानमा ३६ हजार १५० जना, कालीकोटमा ३१ हजार ३५७ जना, हुम्लामा २० हजार ५४५ जना, मगुमा १३ हजार ७९५ जना र रुकुम पश्चिममा ६ हजार ६५८ जना आन्तरिक पर्यटकहरु भित्रिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी बाह्य पर्यटक आउनेमा सवैभन्दा धेरै हुम्लामा रहेको छ । जहाँ १७ हजार ४८९ जना छन् । त्यसपछि डोल्पामा दुई हजार ६८८ जना, सुर्खेतमा ६५४ जना, मुगुमा ३३४ जना, जुम्लामा ६२ जना र कालिकोटमा २१ जना रहेका छन् । आन्तरिक र बाहृय पर्यटक आउने क्रम बढेपछि प्रदेश सरकार पनि उत्साही भएको मन्त्री बुढाले बताए ।
यसैवीच मन्त्रालयले रारा कर्णाली पर्यटन बर्षको उद्घाटन खर्चमा कुनै अनियमितता नभएको दावी गरेको छ । मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलले गरेको लेखा परीक्षणलाई आधार मानेर उद्घाटन खर्चमा ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले काम गर्ने क्रममा अनुभवको कमीले केही कमजोरी भएपनि अनियमिता नभएको जनाए ।
प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार १८:५०