भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव हुने बताएका छन् । आइतबार भरतपुर–१० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै उनले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक नीति साकार हुने बताए ।
उनले भने, ‘अर्थको नीतिको परिकल्पना गर्दा ३ खम्बे अर्थ नीति भनेर परिकल्पना गरेको छ । सार्वजनिक, निजी र सरकारीको सहकार्यले मात्र देशको अर्थतन्त्रलाई अगाडि बढाउन सकिन्छ ।’
‘लामो प्रयत्न,संर्घष र उतारचढावपछि संविधान बनेको छ, उनले भने,‘संविधानले अबको राज्यको परिकल्पना समाजबाद उन्मुख हुने परिकल्पना गरेको छ,’ उनले भने । उनले प्रमुख राजनीति दल र नेताहरुबीच देशलाई समाजिक न्यायासहितको आर्थिक युगतिर लैजाने संकल्प गरिएको बताए ।
‘आउने दशकमा विकास र समृद्धिका थुप्रै परियोजनाका रेकर्डहरु बन्दैछन्,उनले भने,‘नेपालको भौगोलिक विविधता, यहाँको प्रकृति स्रोत साधानको प्रयोग विज्ञान र प्रविधिको प्रयोग गरेर धेरै परियोजना देखा पर्नेछ ।’
उनले चितवनका सहकारीहरुले नमुना पेट्रोल पम्प सञ्चालन गरी देशमा नयाँ सन्देश दिन खोजेको बताए । यही अभियानमा सामेल हुन देशका हजारौ सहकारीले जमर्को पनि गरिरहेको उनको भनाई छ । उनले सहकारीमार्फत ३ सयभन्दा बढी उद्योगहरु सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।
प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार १६:१६