चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय शासन कताकता कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता आफूलाई लागेको बताएका छन् । लगानी केन्द्रीकृत गर्नको लागि शुक्रबार भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई कमजोर पार्नुहँदैन, पार्न दिनुहुँदैन, यसलाई मजबुत बनाउनुपर्छ । प्रदेश ३ ले जुन कार्यक्रम गरेर संघीयता बलियो बनाउन खोजेको छ, यो सह्रानीय हो ।’ उनले हाम्रा बाबुबाजेले खाद्यान्न निर्यात गर्थे, तर अहिले आयत भइरहेको बताउँदै भने, ‘अबको शिक्षा पनि प्रविधिमैत्री बनाउनुपर्छ ।’
निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न नसके विकास दिवास्वप्न हुने बताए । ‘सरकारले निजी क्षेत्रसँग इमान्दारिता प्रस्तुत गर्नुपर्छ, विश्वासमा लिन सक्नुपर्छ, नत्र विकास र समृद्धिको सपना नदेख्दा पनि हुन्छ ।’ उनले विगतका समयमा सरकार र निजीक्षेत्रको दुरी नजिक हुन नसकेको बताए ।
कार्यक्रममा उनले भने, ‘विगतको समयमा सरकार निजी क्षेत्रलाई दुहुनो गाईको रुपमा लियो, यिनीहरु ठग नै हुन् भन्नेमा गयो । निजी क्षेत्र पनि कताबाट हुन्छ, कर छल्नतर्फ उन्मुख भयो जसको कारण विकास अगाडि बढ्न सकेन ।’ उनले अहिलेको वातावरण विल्कुल फरक रहेको बताए । कार्यक्रममा उनले भने, ‘निजी क्षेत्र र सरकार दुबैले इमान्दारी देखाउन आवश्यक छ, दुबै सँगसँगै हिँड्न आवश्यक छ, तबमात्र देशको विकासले गति लिन्छ ।’
अध्यक्ष प्रचण्डले लगानीमैत्री र विकासमैत्रीतर्फ ध्यान गएको बताए । कार्यक्रममा उनले भने, ‘१०४ वर्ष राणाशासनमा पनि केन्द्रीय शासन, पछिल्लो ७० वर्ष पनि केन्द्रीय शासन तर देशको विकासले गति लिएन । अबको शासन फरक हो, घरघरमा सरकार पुगेको छ ।’ अहिलेको परिवर्तन ७ सालको, १७ सालको ४६ सालको जस्तो नभएको उनले बताए ।
प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार ०८:०२