सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुककै सवैभन्दा जेठो अखबार गोरखापत्रको अवको मिसन विकास र समृद्धि हुनुपर्ने बताएका छन् । उनले स्वर्णिम् इतिहास बोकेको गोरखापत्रले नयाँ नेपालको विकास, समृद्धि र सुशासनका पक्षमा बहस गर्नुपर्नेपनि उल्लेख गरे ।
गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको विहीवार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समृद्ध प्रदेश र मुलुक बनाउने कामको सुरुवात गोरखापत्रबाटै गर्न सुझाव दिए । उनले सत्य र आधिकारिक समाचारका लागि गोरखापत्र नै मुख्य आधार भएकोले जनताको आवाजबिहीनहरुको आवाज बन्न पनि जोड दिए । गोरखापत्रले अहिलेसम्म जनविश्वास हासिल गरेको भन्दै त्यो जनविश्वास गुम्न नदिन उनले सुझाए ।
अहिलेको समय नकारात्मक सोचले विरोध र आलोचना बढी हुने अवस्था रहेको हुँदा अव त्यसको आवश्यकता नभएको भन्दै मुख्यमन्त्री शाहीले विरोध र आलोचना होइन संघर्ष गर्ने संस्कारको विकास गर्न गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । जनतामा सकारात्मक सोचको भावना पैदा गराउन गोरखापत्रलाई उनले जोड दिए ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सत्य र तथ्य समाचारका लागि त्यसको गहिराईमा पुग्नुपर्ने बताए । उनले नयाँ र ऊर्जाशील गोरखापत्र हुनुपर्ने भन्दै आधिकारिक समाचारका लागि गोरखापत्र नै मुख्य भएको उल्लेख गरे । समृद्ध प्रदेश बनाउनका लागि गोरखापत्रले कर्णाली प्रदेशलाई प्राथमकिता दिनुपर्ने पनि उनको भनाइ छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले विगतको गाथा गाएर मात्र नहुने भन्दै अव नयाँ कदमका साथ अगाडि बढेको बताए । उनले पाठक र समयको मागलाई ध्यानमा राख्दै सोही अनुसारको खुराकहरु पस्किरहेकोले तन्नेरी जोश र जाँगरका साथ गोरखापत्र लागेको जनाए । उनले कर्णाली प्रदेश समाचारको खानी भएकोले समाचारदाताहरुलाई सक्रिय भएर समाचार सम्प्रेषण गर्न सुझाव दिए । साथै गोरखापत्र सधैं सत्य र विश्वसनीयताको पर्याय भएकोले यसलाई कायमै राख्ने प्रतिवद्धता पनि उनको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गोरखापत्रको इतिहास गर्विलो, वर्तमान सशक्त भएकोले भविष्य सुनौलो बनाउन सुझाव दिए । उनले गोरखापत्रलाई सम्पादक र समाचारदाता फेरिरहने विगतको प्रवृत्तिबाट मुक्त गराउनुपर्नेमा पनि जोड दिए ।
सुर्खेत उपत्यका नगरविकास समितिका अध्यक्ष नारायण कोइरालाले न्यूनतम सरकारी शुल्कमा स्वामित्व हस्तान्तरण हुने गरी गोरखापत्रलाई जग्गा उपलव्ध गराउन सकिने प्रतिवद्धता गरे ।
गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठले आवाजविहीनहरुको आवाज गोरखापत्र बनिरहेको दावी गरे । उनले संघीयता कार्यान्वयनमा गोरखापत्रले पनि सहयोग गरेको भन्दै पत्रिकामा प्रदेश अनुसारको पृष्ठ विभाजन गरिएको जानकारी दिए ।
गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले गोरखापत्रले अवका दिनमा कुनैपनि आग्रह पूर्वाग्रह नराख्ने बताए । साथै गोरखापत्रलाई फुटवलको जस्तो उता उताको नियति पनि नबनाइने उल्लेख गरे ।
दि राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोख्रेल, गोरखापत्रका प्रदेश समाचार व्युरो प्रमुख गोकर्ण अर्याल, नेपाल भाषाभाषी पृष्ठ संयोजक कुमार विवेकानन्द मि?, गोरखापत्रका योजना विभाग प्रमुख तारा बस्याल, पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीसहितको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा गोरखापत्र संचालक समितिका सदस्य दुर्गाप्रसाद भण्डारी, प्रशिक्षक शरदचन्द्र वस्ती लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रवारसम्म संचालन हुने प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका गोरखापत्रका समाचारदाता र विभिन्न भाषाभाषिकाका स्तम्भकारहरुको उपस्थिति छ ।
प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार २०:४५