सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको व्यक्तिको आधारमा चलिरहेको गुटको राजनीतिक अन्त्य गर्ने उद्घोष गरेका छन् । पार्टीको महामन्त्री भएपछि पहिलो पटक सोमवार कांंग्रेस सुर्खेतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले गुटको आधारमा चलेको पार्टीलाई विचारको प्रतिस्पर्धामा ल्याउने कामलाई प्राथमिकता दिने जनाए ।
सिंगो कांंग्रेस बनाएर फेरि मुलुकको विकास निर्माण गर्ने जिम्मेवार पार्टी बनाउने कामलाई आफूले जोड दिने उनले बताए । अहिलेको कांग्रेस कम्युनिष्टका कारणभन्दा पनि जनताको मन कुँडिएर यस्तो अवस्थामा आएको आफूले पाएको महामन्त्री खड्काले बताए ।
कांग्रेससंग जनताको मन कुँडिएकोले अहिलेको अवस्थामा आइपुगेको हुँदा अव सच्चिएर जनताको कुँडिएको मनलाई खुशी बनाउने बेला आएको उनले जनाए ।
पूर्व गृहमन्त्रीसमेत रहेका महामन्त्री खड्काले पार्टीले दिएको महामन्त्रीको जिम्मेवारी पूर्णरुपमा बहन गरी कसैको पनि शिर झुकाउने काम नगर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो काम, निर्णय र भूमिकाबाट कोही कसैलाई पीर मर्का नपार्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा पार्टी, देश र जनताप्रति प्रतिवद्धता रहने प्रण गरे ।
यस्तै वर्तमान केपी ओली नेतृत्वको सरकारले एक बर्षको अवधिमा जनतालाई निराशमात्रै पारेको आरोप महामन्त्री खड्काले लगाए । उनले अहिलेको सरकारले जनतामा व्यापक निरासा बढाएको, जनपक्षीय कुनैपनि कामहरु गर्न नसकेको, सर्वसत्तावाद लादेको टिप्पणी गरे ।
उनले वर्तमान सरकारको महत्वकांक्षा अस्वाभाविकरुपमा बढेको र यस्तो हुनु मुलुक अधिनायकवादतर्फ उन्मुख रहनु हो भने ।
यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले पार्टीको गतिविधिलाई अव वडातहदेखि नै बलियो र सशक्त बनाउन आवश्यक रहेको बताए । यहाँ पार्टीमा नेता कार्यकर्ताहरुको गुण र दोषको पनि अनुशासन समितिमार्फत मूल्यांकन गरिने जानकारी दिए ।
केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले संघ र प्रदेशको निर्वाचनबाट निरास भएका कांग्रेसी जनताका पक्षमा सफल हुन महामन्त्री खड्कालाई सुझाव दिए ।
अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले कमजोर अवस्थाको पार्टीलाई गतिशील र सशक्त बनाउन महामन्त्रीको भूमिका गहन हुनेमा आफू विश्वस्त रहेको बताए । साथै महामन्त्री खड्कालाई पार्टी सभापति र मुलुकको प्रधानमन्त्री बन्ने बाटोमा क्रियाशील रहन पनि सुझाव दिए । कम्युनिष्टले निल्न लागेको मुलुकलाई जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको उल्लेख गर्दे उनले त्यसका लागि वडादेखि केन्द्रसम्म पार्टी सशक्त हुनुपर्ने बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको सभामा पूर्वमन्त्रीहरु शिवराज जोशी, खड्गबहादुर बस्याल, तप्तबहादुर विष्ट, पूर्व सभापति डम्बर जिसी, क्षेत्रीय सभापतिहरु नारायण कोइराला, लालवीर भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले महामन्त्री खड्कालाई शुभकामना दिदैं महामन्त्रीत्वको काल सफल हुनेमा विश्वस्त रहेको बताए ।
प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार २०:५४