सुर्खेत । प्रदेशमा सरकार गठन भएको एकवर्ष वितिसक्दापनि अहिलेसम्म मन्त्रालयहरुले कर्मचारी अभाव झेलिरहेका छन् । त्यत्तिमात्रै नभएर केन्द्र सरकारले सिंहदरबार गाउँगाउँमा आएको महसुस गराउने नाममा प्रादेशिक संरचनाहरु स्थापना गरेर काम अघि बढाएको छ । तीनै सिंहदरबार गाउँगाउँमा आएको महसुस गराउने प्रादेशिक कार्यालय जनशक्तिको अभावमा काम गर्न सकेका छैनन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कर्मचारी अभावका बावजुदपनि निमित्तको भरमा मन्त्रालयको चलिरहेको छ । मन्त्रालयका अर्थविद हरि पण्डित भन्छन, ‘माथिल्लो तहका कर्मचारी यो प्रदेशमा आउनै चाहादैनन्,’ उनले भने, यसले गर्दा काम गर्न निकै समस्या भएको छ ।’
अधिकृतका स्तरका कर्मचारी कर्णाली प्रदेशमा नआउने हुनाले काममा समस्या हुने गरेको उनले दुखेसो गरे । उनी भन्छन्, ‘अब कर्णाली प्रदेशलाई चुनौती थपिएको छ, अहिले जे जती काम गरेपनि आगामी दिनमा कर्मचारी नहुँदा मन्त्रालयका नीति नियमका काम गर्न धेरै समस्या हुन्छ ।’ उनले थपे ‘यसलाई प्रदेश सरकारले गम्भीर रुपमा हेर्नुपर्छ ।’
उनी कर्मचारी अभाव भयो भनेर पछि हट्न नमिल्ने बताउँछन् । उनले भने ‘अन्यत्र प्रदेशको कर्मचारी यहाँ आउन मानेन् भनेर विकास र समृद्धिका लागि पछि हट्न पनि त मिल्दैन नी ? ।’ उनले थपे ‘अब आफ्नो प्रदेश आफैँ बनाउने जिम्मेवारी काँधमा आएको छ ।’
यता भौतिक पूर्वाधार विकास मन्त्रालयको हविगत पनि उस्तै छ । मन्त्रालयमा अधिकृत स्तरका कर्मचारी नहुँदा काममा समस्या हुने गरेको सचिव दानरत्न शाक्य गुनासो गर्छन । शाक्यले मन्त्रालयमा कर्मचारीहरुको आवश्यकता भएपनि कर्मचारी आउन नमान्ने गरेको दुखेसो गर्छन । उनी भन्छन, ‘केन्द्रले पठाए भन्छ, दुई महिनापछि कर्मचारी अर्कै ठाउँ पुगेको जानकारी आउँछ ।’
शाक्यले भने ‘समायोजनपछि राहत मिल्छ की भन्यो झन गाह्रो भइदियो, समायोजनले गर्दा यो प्रदेश नै रोज्न मान्दैनन् कर्मचारी ।’
उल्लेखित घटनाक्रमहरु सुर्खेतस्थित कार्यालयहरुमा कर्मचारी अभावका कथाहरु हुन् । भुगोल र सेवा सुविधाका हिसावले कर्णालीको सबैभन्दा सुविधाका सम्पन्न मानिने सुर्खेतमा यस्तो हालत भैरहदा डोल्पा, मुगु, हुम्ला र जुम्ला जस्ता अति विकट क्षेत्रमा दरबन्दी अनुसारका कर्मचारी हुने कल्पनासम्म गर्न सकिंदैन ।
सुरक्षा निकाय, स्वास्थ क्षेत्रका कर्मचारी होस् या निजामति, कर्णाली भन्न वित्तिकै सबैको नाक खुम्चिने गर्छ जसको एउटै कारण हो भौगोलिक विकटता र भौतिक सुविधाको अभाव ।
शहरमा हुर्किएका मात्रै होइन कर्णालीका हुम्ला र डोल्पामा जन्मिएका कर्मचारी पनि यहाँ बस्न मान्दैनन् । शहरको भन्दा दोब्बर महंंगी र बेलाबेलामा प्रकृतिले दिने कष्टका कारण पनि कर्मचारीको रोजाईमा पर्दैन, कर्णाली । शहरको रमझम, चिल्ला गाडीमा हुकिंएर विदामा मुडफ्रेस गर्ने स्थानको अभाव, प्राप्त स्कूल नहुँदा जागिरसँगै पढाईलाई पुरा गर्न नसक्नु र दुःख कष्टमा तत्काल स्वास्थ्य संस्थामा जानसक्ने अवस्था नहुनु लगायतका कारणले कर्णाली कर्मचारीको रोजाइमा पर्दैन ।
याे पनि सुन्नुहाेस् के भन्छन् कर्णाली प्रदेश सरकारका कर्मचारी ?
प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार १३:१३