सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । १२ किलोमिटर २ सय मिटर सुरुङ खन्ने काम सकिएपनि औपचारिक उद्घाटन भने बैशाख ३ गतेलाई तय गरिएको छ ।
आयोजनाको सुरुङ खन्ने काम लगभग सकिएको हुनाले औपचारिक उद्घाटनको काम बैशाख ३ गतेलाई तय गरिएको आयोजनाका इन्जिनियर हरि प्रसाद खनालले जानकारी दिए । उनले भने, ‘सुरुङ खन्ने काम सबै सकिएको छ, औपचारिक उद्घाटन बैशाख ३ गते हुन्छ ।
चार वर्षमा काम पुरा हुने गरी शुरु भएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ एक वर्ष अगावै पुरा भएको छ । सरकारको महत्वाकांक्षी योजनाको रुपमा प्रस्तुत गरिएको उक्त आयोजना तोकिएको समयअगावै काम हुने पहिलो ठुलो आयोजना हुन पुगेको छ । टनेलबोरिङ मेशिन प्रयोग गरिएको पहिलो आयोजना भेरी–बबई नेपालकै नमूना आयोजना हो ।
टनेलबोरिङ मेशिन प्रयोग गरिएको पहिलो आयोजना भेरी–बबईको सुरुङ खन्ने कामलाई स्थानीयले मात्र होइन देश विदेशबाट समेत चासोकासाथ हेरिएको हुनाले यसमा भएको कामको प्रगतिका बारेमा पनि सबैतिर चासो, चर्चा र उत्सुक्ता हुनु स्वाभाविकै हो । नेपालकै नमूना यस आयोजनाले धेरैको ध्यान पनि खिचेको छ ।
आयोजनाको शुरुङ निर्माण शुरु भएको ३६ महिनामा १२ किलोमिटर २ सय मिटर शुरुङ निर्माण कार्य सम्पन्न गरेको छ । यो अवधिमा एक दिनमा १० मिटर देखि ३५ मिटर अर्थात एक महिनामा ३३० मिटर देखि १ किलोमिटर ६२ मिटरसम्म शुरुङ खनेको आयोजनाले जनाएको छ ।
चिप्लेमा ड्याम बाँध्ने र हात्तीखालमा पावरहाउस निर्माणका लागि पिक्यु छनोटको काम भइरहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका इन्जिनियर खनालले जनाएका छन् ।
बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र बाह्रै मास ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरबको आयोजना हो ।
भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ । बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ ।
चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
१० अर्ब ५७ करोड रुपैयाँको लागतमा सुरुङ निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । इन्टेक र पावरहाउसको लागत समेत जोड्दा आयोजना सम्पन्न गर्न करिब ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
२०७२ चैत २१ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई दिएको थियो ।
प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार १७:५९