सुर्खेत । कर्णाली प्रदेश सभाले संसदका गतिविधिहरुवारे बढी जानकारी दिने मिडिया सेन्टर स्थापना नहुँदा पत्रकारलाई समाचार संकलनमा सकस परेको छ ।
संसदको तेस्रो अधिवेशनसम्म आइपुग्दा समेत मिडिया सेन्टर स्थापना हुन सकेको छैन । जसले गर्दा पर्याप्त मात्रामा संसदका गतिविधिहरु बाहिर ल्याउन नसकेको पत्रकारहरुले गुनासो गरेका छन् ।
मिडिया सेन्टर नहुँदा संसदभित्र प्रवेश गर्न पत्रकारहरुलाई झमेला, क्यामरा, रेकर्डर लिन नपाइने कारणले संसदको गतिविधिहरु पर्याप्त मात्रामा बाहिर आउन सकेका छैनन् । क्यामराले फोटो र भिडियो खिच्नका लागि मर्यादापालकको रोहबरमा २ मिनेटमा सक्नुपर्ने, यदि नभए प्रदेश सरकारले सम्झौता गरेको एक निजी टेलिभिजनसँग गुहार गर्नुपर्ने बाध्यता पत्रकारहरुलाई रहेको छ ।
कर्णाली प्रदेशसभा सचिवालयले गत हप्ता संसद र संचार सम्वन्धी गरेको अन्तरक्रियामा पनि सहभागी पत्रकारहरुले सभामुख राजबहादुर शाही लगायत प्रदेश सभा सदस्यहरुसँग मिडिया सेन्टर जतिसक्यो छिटो स्थापना गर्न माग गरेका थिए ।
यता मिडिया सेन्टर निर्माणको जिम्मा लिएको एन के थापा कन्स्ट्रक्सन कम्पनीले काम पुरा नगरी छोडेको छ । प्रदेश सभाको संसदीय रिपोर्टिङका लागि पत्रकारहरुलाई सहज गराउन मिडिया हाउस निर्माण गर्न एन के थापा कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माण कम्पनीले काम ढिला गरेका कारण असार मसान्तसम्ममा जति काम गरेको थियो त्यहि अनुसार भुक्तानी लगेको सचिवालयले जनाएको छ ।
निर्माण कम्पनीले छोडेको कारण नयाँ प्रक्रिया र थप बजेटको व्यवस्था गर्नुपर्ने भएकाले केहि समय लाग्ने सभामुख शाहीले बताए । गत जेठ १० गते निर्माण कम्पनीसँग एक महिना भित्र सम्पन्न गर्ने गरि १३ लाख ६६ हजार ३ सय ८८ रुपैयाँमा सम्झौता गरिएको थियो । कम्पनीले १३ लाख ५३ हजार ९०४ रुपैया भुक्तानी लगिसकेको छ । लागत स्टिमेट भन्दा चार मिटर लम्वाइ र दुई मिटर चौडाइ बढाएकोले निर्माण कम्पनीले सम्झौता बराबरको रकम भुक्तानी लगेको सचिवालायले जनाएको छ । निर्माणाधीन अवस्थामा रहेको मिडिया सेन्टरमा फ्लोरिङ र फर्निसिङ सहित आवश्यक उपकरण जडान गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार १८:११