सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गते दिउसो एक बजे बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको बुधबार बसेको बैठकले कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन २०७५ फागुन १५ गते अपरान्ह १ बजे आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेपछि हिउँदे अधिवेशन बस्ने पक्का भएको हो ।
सरकारका प्रवक्ता एवम भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार कात्तिक १८ गते समापन भएको बजेट अधिवेशन अब फागुन पन्ध्र गते हिउँदे अधिवेशनका रुपमा बस्ने भएको हो ।
बैठकले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेकोे प्राङ्गारीक कृषि विधेयक २०७५ प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवर्धन गर्न बनेको विधेयक २०७५ लाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
यस्तै याे एक वर्षको अवधिमा कर्णाली प्रदेश सभाका ६३ बैठक सम्पन्न भएका छन् । २०७४ माघ १ गते कर्णाली प्रदेश सभाको पहिलो बैठक सञ्चालन भएको थियो । पहिलो बैठक संसद्का ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो ।
दुइटा अधिवेशन सम्पन्न गरेको कर्णाली प्रदेश सभाले ६३ बैठकमा ७६ घण्टा ११ सेकेण्ड खर्चिएको छ । पहिलो अधिवेशनअन्तर्गत ८७ दिनको अवधिमा २६ घण्टा ४३ मिनेट सभा सञ्चालन भएको छ ।
२०७४ माघ महिनाको २६ गते बसेको बैठकले सभामुखमा राजबहादुर शाहीलाई नियुक्त गरेको थियो भने फागुन ५ गतेको बैठकबाट उपसभामुखमा पुष्पा घर्तीलाई सर्वसम्मत चयन गरिएको थियो ।
फागुन १२ गते बसेको सभाको चौथो बैठकबाट प्रदेश सभामा कायम दुई तिहाइभन्दा बढी मतले प्रदेश नं. ६ को नामाकरण कर्णाली प्रदेश गरेको थियो । सोही बैठकबाट प्रदेशको राजधानी वीरेन्द्रनगरलाई तोकेको हो ।
यस्तै, फागुन १५ गते बसेको पाँचौं बैठकबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सभाको विश्वासको मत प्राप्त गरे ।
दोस्रो अधिवेशनअन्तर्गत २०७५ जेठ अन्तिममा बसेका १३ औं, १४ औं र पन्ध्रौं बैठकबाट प्रदेश सरकरको नीति तथा कार्यक्रम पारित भएको थियो ।
दोस्रो अधिवेशनका क्रममा असार १ गते एकैदिन दुइटा बैठक सञ्चालन भएका थिए ।
उक्त दिनका सोह्रौं र सत्रौं बैठकबाट कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५-०७६ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) र उक्त विधेयकसँग सम्बन्धित कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश आर्थिक विधेयक, २०७५ र कर्णाली प्रदेश ऋण उठाउने विधेयक, २०७५ सभा समक्ष टेबुल गरिएको थियो ।
एक वर्षको अवधिमा सञ्चालन भएका बैठकहरूमध्ये पहिलो अधिवेशनका दुइटा बैठकमा प्रतिपक्षी दलका सांसद्हरूले उभिएर विरोध जनाएका थिए । दोस्रो अधिवेशन अन्तर्गतको एउटा बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरूद्ध पारेका थिए ।
संसद्को दोस्रो अधिवेशन कात्तिक १८ गते अन्त्य भएको थियो ।
प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार १५:५६