सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको यातायात व्यवस्था कार्यालय सुर्खेतमा चालक अनुमति पत्र (लाइसेन्स) वितरणको अधिकार पाएको करिब ३ महिनाभन्दा बढी भइसक्दा पनि लाइसेन्स वितरण प्रक्रिया भने हुन सकेको छैन । लाइसेन्सका लागि आवश्यक पूर्वाधार समेत तयार भइसक्दा र आवश्यक पूर्वाधारको तयारी पुरा हुुँदा समेत लाइसेन्स वितरण प्रक्रिया हुन सकेकाे छैन ।
यातायात व्यवस्था कार्यालय सुर्खेतले माघ महिनाबाट लाइसेन्स वितरणको प्रक्रिया हुने जनाए पनि कर्मचारी अभावका कारणले लाइसेन्स वितरण प्रक्रिया हुन नसकेको जनाएको छ ।
प्रदेश सरकारले जस्तै यातायात व्यवस्था कार्यालयले समेत कर्मचारी अभाव झेल्दा कर्णालीका नागरिकले अझै सास्ती बेहोर्न बाध्य छन् भएका छन् ।
‘चालक अनुमति पत्रका लागि चाहिने आवश्यक पूर्वाधार तयार भइसकेको छ ।’ निमित्त कार्यालय प्रमुख घनश्याम बोगटीले भने, ‘अहिले हामीलाई जनशक्तिको मात्रै समस्या छ । जनशक्ति पुरा भए हामी तत्काल लाइसेन्स वितरणको काम अघि बढाउँछौँ ।’
कार्यालयले लाइसेन्स दिने अधिकार प्राप्त गरेपनि जनशक्तिको अभावमा कामलाई गति दिन नसकेको निमित्त कार्यालय प्रमुख बोगटीले जनाए । उनका अनुसार भर्खरमात्रै अधिकार प्राप्त यातायात कार्यालय पूर्णरुपमा कार्यान्वयनमा जान २९ जना कर्मचारी आवश्यक छ ।
कार्यालयले २९ जना कर्मचारी सहितको दरबन्दीका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र काटिसकेको छ । ‘आवश्यक जनशक्तिका लागि हामीले २९ जनाको दरबन्दी सहितको पत्र प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत पत्र पठाइसकेका छौँ ।’ निमित्त कार्यालय प्रमुख बोगटीले भने,‘कर्मचारी स्विकृत भएर आए लगत्तै लाइसेन्स वितरणको काम हामी सुरु गर्छौ ।’
आवश्यक जनशक्तिका लागि केही समय अघिनै पत्राचार गरेपनि स्विकृत हुन ढिलाई गरेको उनले बताए ।
हाल कार्यालयमा ८ जनाको दरबन्दी रहे पनि ७ जना कर्मचारी कार्यरत रहेका छन् ।
यता यस अघि प्रदेश नं. ५ को नेपालगञ्ज धाउँदै आएका कर्णालीवासी सुर्खेतबाटै लाइसेन्स वितरण हुने चर्चाले निकै खुशी थिए । तर, जनशक्ति अभावले अझै लाइसेन्स वितरण नहुँदा कर्णालीवासी निराश बनेका छन् । जाजरकोटबाट सुर्खेत आइपुगेका भुपेन्द्र अधिकारीले माघ महिनाबाट लाइसेन्स वितरण गर्ने भने पनि अझै गर्न नसकेको भन्दै गुनासो पोखे ।
‘३ महिना अघि लाइसेन्स वितरण हुने भनेको थियो । तर, अझै कार्यालयले लाइसेन्स वितरण गर्ने काम नहुदा हामी कर्णालीवासीले पाएको सुविधाबाट बञ्चित भएको महशुस भएको छ ।’ उनले भने, ‘यसरी पाएको अधिकार पनि हामीले उपयोग गर्न र गराउन नसक्दा प्रदेश सरकारले पहल नगरेको प्रस्ट देखिन्छ ।’ कर्णालीले पाएको सुविधा सरकारले नै पहल नगर्दा सेवा लिन प्रदेश ५ मा जानुपर्ने बाध्यता पुरानै दोहोरिएको उनले बताए ।
अहिले कर्णालीवासी सवारी दर्ता, लाइसेन्स प्राप्त गर्न अझै नेपालगञ्ज धाउँदै आएका छन् ।
प्रकाशित मिति: २३ माघ २०७५, बुधबार १२:५५