सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको एकमात्र संग्रहालय प्रदर्शनीयोग्य सामग्रीको अभाव हुँदा ओझेलमा परेकोे छ ।
प्रदर्शनीयोग्य सामग्रीहरु नहुँदा, प्रचार प्रसारको कमीका कारण पर्यटकको आकर्षणको केन्द्र संग्रहालय बन्न नसकेको हो । संग्रहालयका सुचना अधिकारी मधु रेग्मीले संग्राहलयका लागि बजेट कम विनियोजन हुँदा संग्रहालयलाई पारिमार्जित गरी आकर्षक बनाउन नसकिएको बताए ।
बजेटकै अभावका कारण प्रदेश संग्रहालयको नयाँ भवन समेत बन्ने सकेको छैन । साथै सजावटका लागी प्रयोग हुने सोकेश समेत जिर्ण बन्दै गएका छन् ।
दश वटा जिल्ला हेर्ने गरी स्थापित प्रदेश संग्रहालयले सुर्खेतलाईसमेत समेट्न नसक्दा पर्यटक आकर्षित गर्न समस्या भएको सुचना अधिकारी रेग्मीको भनाई छ । प्रत्येक महिनामा नयाँ सामान थप हुनुपर्ने भएपनि संग्रालयमा पर्यटक आकर्षक गर्ने खालका नयाँ सामान थप नभएको उनले गुनासो गरे । उनका अनुसार संग्रहालयभित्र सजाईएका सामानहरु पनि सबै प्रदर्शन गर्न मिल्ने खालका छैनन् ।
संग्रहालय व्यवस्थित नबनेकै कारण चालु आर्थिक वर्षको चार महिनामा २ हजार चार सय ७७ जनाले मात्रै संग्रहालयको अवलोकन गरेका छन् । जसबाट २३ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आर्थिक सहयोगको आश्वासन पाएको उनले बताए । मन्त्रालयबाट रकम प्राप्त भए संग्रहालयको डकुमेन्ट्री निर्माणलगायत अन्य काममा खर्च गर्ने सुचना अधिकारी रेग्मीले जनाए ।
संग्रहालयले विद्यार्थीका लागि पाँच, सर्वसाधारणका लागि १०, सार्क मुलुकका नागरिकका लागि ५० र सार्कभन्दा बाहिरका मुलुकका नागरिकका लागि १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।
संग्रहालयमा विभिन्न समुदायका भेषभूषा झल्कने पोशाक, गरगहना, पुरातात्विक महत्वका सिक्का, भाँडाकुँडा लगायतका वस्तुहरु संग्रहित छन् ।
संग्रहालयमा विभिन्न समुदायका भेषभूषा झल्कने पोसाक, गरगहना, पुरातात्त्विक महत्त्वका सिक्का, भाँडाकुँडालगायत संग्रहित छन्।
प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार १२:५०