सुर्खेत । श्रम तथा रोजगार कार्यालयबाट बैदेशिक रोजगारीको पुनः श्रम स्वीकृतिको सेवा दिन सुरु गरिएको छ । पहिलो सेवाग्राही सुर्खेत लेकबेसी नगरपालिका ६ का ललितकुमार घर्तीलाई पुनः श्रम स्वीकृतिको राहदानी दिएपछि सो सेवा सुरु भएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रमुख सचिव रामप्रसाद थपलियाले घर्तीलाई राहदानी दिएका थिए । आइतवारदेखि कर्णाली प्रदेशका लागि सुर्खेतस्थित कार्यालयबाट सो सेवा दिएपछि काठमाडौं जानुपर्ने बाध्यता अव हटेको छ ।
हाललाई बैदेशिक रोजगारीमा गएर घर विदामा आएकाहरुका लागि पुनः श्रम स्वीकृतिको काममात्र गर्ने कार्यालयका निमित्त बरिष्ठ श्रम अधिकृत श्यामकृष्ण आचार्यले जानकारी दिए । नयाँ श्रम स्वीकृतिको सेवाका लागि केही महिना लाग्ने उनले बताए । उनले पुनः श्रम स्वीकृतिका लागि पनि काठमाडौं जानुपर्ने समय र पैसाको बढी खर्च लाग्ने गरेकोमा अव सुर्खेतबाट प्रदेशस्तरीय सेवा दिन सुरु गरेपछि बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई सहज हुने बताए ।
सामाजिक विकास मन्त्री दल रावलले हाललाई पुनः श्रम स्वीकृतिको सेवा मात्रै दिन सुरु गरिएपनि यसले धेरै युवाहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले अव यस प्रदेशबाट बैदेशिक रोजगारीमा गएर आएका युवाहरुलाई सजिलो हुने उल्लेख गरे । पहिलो सेवाग्राही ललितकुमार घर्तीले सुर्खेतबाट पुनः स्वीकृति पाउँदा ज्यादै खुशी लागेको प्रतिक्रिया दिए ।
प्रकाशित मिति: ६ माघ २०७५, आईतवार १५:४१