सुर्खेत । सुर्खेतमा प्रत्येक विद्यालयहरुमा पुगेर महिनावारी किशोरीहरुलाई पाठेघरको क्यान्सर रोगवारे सचेतना दिदैं हिंडेकी सुर्खेतकी एक स्वास्थ्यकर्मी इन्टेग्रिटी आइडल नेपालको उत्कृष्ट पाँचौमा पर्न सफल भएकी छन् । वीरेन्द्रनगर नगरपालिकाको नगर स्वास्थ्य शाखाका उपप्रमुख सि अनमी सीताकुमारी शर्मा आइडलको उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी हुन् ।

एकाउन्टेविलीटी ल्यावले सरकारी सेवामा रही निष्ठाका साथ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्ने समक्ष, इमान्दार र कर्तव्यनिष्ट राष्ट्रसेवकलाई प्रत्येक बर्ष आइडल घोषणा गर्ने गर्दछ । यसबर्ष शर्मासहित अन्य चार जना पर्न सफल भएका छन् । उत्कृष्ट पाँचमध्ये पनि भोटका आधारमा सर्वोत्कृष्ट घोषणा गरिनेछ ।
विभिन्न सात चरणको छनौट प्रक्रियापछि शर्मा उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी हुन् । उनी अघिल्लो बर्ष उत्कृष्ट १० भित्र पर्न सफल भएकी थिइन् । २०६० सालमा अनमीका रुपमा प्रवेश गरेकी शर्माले महिनावारी सरसफाईका बेलामा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सरको बढी जोखिम हुने भएकोले त्यसका विरुद्ध विद्यालयहरुमा पुगी सचेतना दिदैं आएकी छन् । सुर्खेत उपत्यकाका निजी तथा सामुदायिक ३८ वटा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई उनले सेनेटरी प्याडको प्रयोग, बनाउने विधिसमेत सिकाएकी छन् । त्यतिमात्र होइन आमा समूह र सहकारीमा आवद्ध महिलालाई पनि उनले सो अभियानमा सरिक बनाएकी छन् । मुश्लिम बस्तीमा समेत पुगेर उनले परिवार नियोजनलगायतका विभिन्न स्वास्थ्य जानकारी दिन सफल भएकी छन् ।
शर्माले आफूले जानेको ज्ञान किशोरीहरुमा बाँड्न थालेको अभियानका कारण आफू यो तहसम्म आउन सफल भएको बताइन् । उनले महिनावारी सरसफाईमा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढेकोले किशोरी अवस्थाबाटै सचेत हुनसके जोखिम कम गर्न सकिने उल्लेख गरे । आफूले अभियान थालेपछि अहिले विद्यालयमा प्याड राख्न थालिएको, किशोरीहरुले प्याड बनाउन जानेको उनले बताइन् ।
सिअनमी सीता शर्माले संचालन गरेको अभियानलाई नै वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य कार्यक्रममा पारेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सिअनमी शर्माले थालेको अभियानलाई नगरपालिकाले आफ्नो कार्यक्रममा पारेको बताए । उनले सोही कार्यक्रमबाट नै किशोरीहरुलाई प्याड वितरणलगायतको बजेट बिनियोजन पनि गरिएको जानकारी दिए ।
सिअनमी शर्माले आफूलाई मत दिन आव्हान गरेकी छन् । इन्टिग्रिटी आइडलको बिजेता भएमा आफ्नो अभियानलाई थप सशक्त बनाउने लक्ष्य रहेको भन्दै उनले त्यसका लागि मोबाइल बक्समा गए आईआईएन टाइप गरेर एक स्पेश छोडी भोटिङ कोड ५ टाइप गरी ३४००१ मा एसएमएस गर्न आग्रह गरेकी छन् । यही मंसिर १७ गतेसम्म मोबाइल र अनलाइनबाट मत दिन सकिनेछभने मंसिर २१ गते सर्वोत्कृष्ट घोषणा गरिने बताइएको छ ।
स्थलगत कामको मूल्याङ्कन, सेवाग्राहीसँगको व्यवहार, नैतिकवान् र इमान्दारजस्ता मापदण्डका आधारमा नेपालकै पाँच कर्मचारी मध्य उनी यस वर्षको आइडल कर्मचारीको छनोट परेकी हुन् । उत्कृष्ट पाँचमा पर्ने शर्मासहित अन्य कर्मचारीहरुमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल र बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ रहेका छन् ।
प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार १२:४१