सुर्खेत । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आसन्न महासमिति बैठकले कांग्रेसलाई मात्र नभई देशलाई नै एकताको सन्देश दिने बताएका छन् ।
नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै पूर्व महामन्त्री सिटौलाले पार्टी भित्र देखिएको मतभेद महासमिति बैठकपछि अन्त्य हुने पनि ठोकुवा गरे । उनले भने, ‘अहिले हामी आ–आफ्नै तरीकाले हिंडेका छौं, तर महासमिति बैठकपछि कांग्रेस एकताबद्ध र व्यवस्थित हुन्छ ।’
राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धी राय सुझाव लिन आयोजना गरिएको गोष्ठीमा पूर्व महामनत्री सिटौलाले नेता सचिन कर्याकर्ताले गल्ती कमजोरी औल्याउनु पर्ने बताए । उनले भने, ‘नेता आफै सुध्रिन्छन् भन्ने नठान्नुस, सुधारका लागि तलबाटै आवाज उठ्नु पर्छ ।’ उनले पार्टीलाई सहि दिशातर्फ लैजान र नेताका कमीकमजोरीलाई सुधार गर्ने उत्तम स्थान भनेको महासमिति बैठक भएको बताए । उनले भने, ‘त्यही बैठकमा आफ्ना कुरा स्पष्ट राख्नु होला ।’
पूर्व महामनत्री सिटौलाले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई आम जनताको हितमा हुने गरी नीति राजनीतिक प्रस्तावमा स्पष्ट हुनु पर्ने कुरा उल्लेख गरे । उनले नेपाली कांग्रेस राजनीतिक, सैद्धान्तिक र आर्थिक सिद्धान्त तथा राजनीतिक सोचका बारेमा पनि स्पष्ट धारणा तय पर्ने बेला आएको बताए ।
पूर्व महामनत्री सिटौलाले भने, ‘सरकार आफ्नो कम्युनिष्ट विमानको तानाशाही दण्डा लगाएर पार्टीका केही नेता र कार्यकर्तालाई बलियो बनाउँन खोज्दै छ तर जनता र राष्ट्रलाई होइन ।’ उनले सरकारले तोकतान्त्रिक मूल्य र मान्यता छोड्दै गएको पनि आरोप लगाए । उनले भने, ‘सरकार एकदलीय सोच बोकेर अगाडि बढेको छ, यसबाट समृद्धि संभव छैन् ।’
पुर्व महामन्त्री सिटौलाले निर्मला पन्तको बलात्कारपछि हत्या गरेकोलाई कारवाही नगरी प्रमाण नष्ट गरी निकमा सरकार भएको आरोप समेत लगाए । उनले मुलुकमा समृद्धि होइन, महंगी, करको मात्रै समृद्धि भएको उल्लेख गरे ।
स्वतन्त्र निष्पक्ष अदालत तथा प्रहरी प्रशासनका साथै प्रेस र पत्रकार माथि अंकुश लगाई उनीहरुलाई तर्साएर अधियाकवाद लादन खोजेको उनको भनाई थियो । प्रतिपक्षमा रहेर गरिब जनताका हक र अधिकारका निम्ति केही गर्न नसकेपनि राजनीतिक प्रस्तावको माध्यमबाट कांग्रेसले नयाँ सोच र परिवर्तनका साथ अघि बढ्नु पर्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेसको सम्वृद्धिका लागि पूर्व मेची देखि महाकालीसम्म टाउँकोमा कप्फन बाँधेर आन्दोलन गर्न तयार रहेको बताए । उनले ओली सरकारले अहिलेसम्म निर्मला पन्त हत्यारालाई पक्राउ गर्न नसकेको बताउँदै सरकारले जनताको ढाड सेकाएको आरेप लगाए ।
पूर्व मन्त्री एवं केन्द्रीय सदस्य थानीले कांग्रेसलाई अघि बढाउनका लागि कांग्रेस एकवद्ध भएर अघि बढ्न आग्रह गरे । उनले गरिब, विपन्न, जनतालाई प्रगतिको बाटोमा ल्याउनका लागि नेपाली कांग्रेसले वृहत छलफल गर्न आवश्यक रहेको बताउँदै कांग्रेसले देशको अस्त्विको बारेमा सोच्ने बेला आएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक किशोर सिंह राठौरले कांग्रेसले निर्वाचनमा विजय हासिल गर्नका लागि काम मात्र नभई संगठन र जनताको मनमस्तिष्कमा भिज्न आवश्यक भएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामा महासमिति सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति र नगर तथा गाउँपालिकाका नगर प्रमुख एवं अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको थियो ।
भिडियाे
प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार १६:५१