काठमाडौँ । देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ ।
‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेकाे आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिदैं विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।
“राजधानीमा महँगी र प्रदुषण बढ्दै गएको छ, यसका विरुद्ध काठमाडौँ काङ्ग्रेसले दबाब दिने कार्यक्रम गर्नुपर्छ, केन्द्रकै मुख ताकेर बस्नुपर्दैन, पार्टी लोकतान्त्रिक तरिकाले चल्नुपर्छ, बैचारिक स्पष्टता समेत जरुरी छ”, उनले भने ।
नेता सिंहले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संविधान जारी गर्ने जिम्मेवारी आएजस्तै विकास र समृद्धिको नेतृत्व काङ्ग्रेसकै काँधमा आउने भएकाले तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
नेता नवीन्द्रराज जोशीले काङ्ग्रेस महासमिति बैठक तीन पटक सरिसकेकाले अब तोकिएकै समयमा गर्न नेतृत्वसँग माग गरे । पार्टीमा सर्वोच्च नेता गणेशमान सिंहको जस्तै त्यागको खोजी गर्ने बेला आएको उनले भने ।
काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधान बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतले पार्टीभित्र शुद्धीकरण अभियान जरुरी रहेको विचार व्यक्त गरिन् ।
काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले विधिसम्मत पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार १९:०२